PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कोलम्बियाले ७० वटा 'कोकेन हिप्पो'हरुलाई भारत र मेक्सिको पठाउने



पहिलोपोस्ट

कोलम्बियाले ७० वटा 'कोकेन हिप्पो'हरुलाई भारत र मेक्सिको पठाउने
Photo : AP

कोलम्बियाले आफ्नो देशमा 'कोकेन हिप्पोज' (जलगैँडाको एक प्रजाति) को बढ्दो संख्यालाई नियन्त्रण गर्ने अभियान थालेको छ। जसअनुरुप कोलम्बियाले दर्जन बढी हिप्पोलाई भारत र मेक्सिको पठाउने तयारी गरेको छ।

हाल कोलम्बियामा १३० देखि १६० वटा हिप्पो रहेका छन्। सुरुमा त्यहाँको हिसेन्डा नेपोलेसमा ४ वटा हिप्पोमात्रै थिए। अहिले भने हिप्पोको संख्या ह्वात्तै बढ्न थालेको र उनीहरु मगडेलने रिभर बेसिनसम्म पुग्न थालेका छन्। जसकारण त्यहाँका स्थानीय चिन्तित बनेका छन्।

दुई दशकमा कोलम्बियामा हिप्पोहरुको संख्या १ हजार ५०० सम्म पुग्ने भन्दै नेचर जर्लनमा प्रकाशित एक लेखमा उल्लेख छ। अधिकारीहरुले 'कन्ट्रासेप्टिभ डार्ट्स'को प्रयोग गरेर हिप्पोको संख्या वृद्धि रोक्ने प्रयास गरेका थिए। तर, त्यो अभियानले केही मात्रमा मात्रै सफलता पायो।

अब भने कोलम्बियाले ७० वटा हिप्पोलाई भारत र मेक्सिकोको चिडियाखानामा पठाउने तयारी गरेको छ। जसमा ६० वटा भारतमा र १० वटा मेक्सिको पठाइनेछ।

हिप्पोलाई अफ्रिका पठाउनेबारेमा भने सहमति हुन नसकेको अधिकारीहरुले बताएका छन्। एक जनावरलाई उसको बासस्थानबाट अर्को नयाँ बासस्थानमा पठाउँदा जनावरसँगै भाइरस, ब्याक्टेरिया लगायत पनि आउने भन्दै त्यसले अफ्रिकाको 'इकोसिस्टम'मा नै प्रभाव पार्न सक्ने भएकाले हिप्पोलाई त्यहाँ पठाउन सहमति हुन नसकेको वैज्ञानिक बताउँछन्।

कोलम्बियाले बाँकी हिप्पोहरुलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell