PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

छक्का पञ्जालाई दर्शकको साथ, अनमोललाई सिनेमा घरमा टिक्नै धौधौ



पहिलोपोस्ट

छक्का पञ्जालाई दर्शकको साथ, अनमोललाई सिनेमा घरमा टिक्नै धौधौ

काठमाडौं : गत शुक्रवार हलमा दुई नेपाली फिल्म ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ रिलिज भए। यी दुई फिल्मबिचको ‘हेभीवेट’ भिडन्त चलचित्रकर्मी र दर्शकका लागि पनि प्रतिक्षित थियो। किनकी ‘छक्का पञ्जा ४’ आफैमा 'ब्रान्ड' फिल्म हो भने ‘छड्के २’ अनमोल केसी अभिनित फिल्म हो।

तर, बक्सअफिसमा 'ब्रान्ड'को अगाडि अनमोलको ‘स्टारडम’ ले जादु देखाउन सकेन। ‘लभर ब्वाई’ भूमिकामा देखिँदै आएका अनमोलको ग्याङ्स्टर अवतारलाई दर्शकले रुचाएनन्। जसकारण ‘छक्का पञ्जा ४’ ले आक्रामक व्यापार गर्दा ‘छड्के २’ को व्यापार निराशाजनक रहेको हल सञ्चालक बताउँछन।

नेपाली हलहरुले पहिलो दिन ‘छक्कापञ्जा ४’ लाई ६० प्रतिशत र ‘छड्के २’लाई ४० प्रतिशत शो छुट्याएको थियो। जसमध्ये देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ‘छक्कापञ्जा ४’ लाई ४२ र ‘छड्के २’ लाई ३२ शो दिएको थियो।

शनिवारदेखि ‘छड्के २’ को तुलनामा ‘छक्का पञ्जा ४’ शो ह्वात्तै बढेको छ। आइतवार क्युएफएक्सले ‘छक्का पञ्जा ४ ’लाई ६९ शो र छड्के २ लाई ४५ शो छुट्याएको छ। तर, ‘छड्के २’ मा अग्रिम बुकिङ कमजोर हुँदा शो घटिरहेको बताउँछिन् क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरी। किनकी शो टाइममा ‘छड्के २’ मा २० मात्रै उपलब्ध गराइएको छ।

‘छक्का पञ्जा ४’ ले दुई दिनमा ३ करोड बढी व्यापार गरेको वितरक मनोज राठी जानकारी दिए। ‘छक्का पञ्जा ४’ मा दर्शकको उपस्थिति उत्साहजनक छ। दुईदिनमा यस फिल्मले ३ करोड बढी 'कलेक्सन' गर्न सफल भएको छ। दर्शक बढ्दा हलहरुले पनि शो थप गर्नुभएको छ,’ उनले भने।

त्यसैगरि, कलाकार दीपकराज गिरी पनि दर्शकको साथ पाउँदा मख्ख छन। भन्छन्,‘अघिल्ला सिरिजझैं यसमा पनि दर्शकको संख्या उच्च छ। हलमा ताली र सिठ्ठीको वर्षा देख्दा निकै खुसी लागिरहेको छ। हलले पनि शोहरु थप गर्नुभएको छ।’

भोलि सोमबारदेखि होली पर्व र लगत्तै नारी दिवसको बिदा भएकाले पनि ‘छक्का पञ्जा ४’ को थप व्यापार बढ्ने आशा गरिएको छ। राजनीतिक विषयवस्तुमाथि आधारित यो फिल्म ३ करोड लगानीमा बनेको थियो।

हेमराज बिसीको निर्देशित यस फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

त्यस्तै, अनमोल स्टारर ‘छड्के २’ ले को व्यापार निकै न्युन रहेको वितरक सुनील मानन्धरले बताए। ‘छड्के २’ लाई अनमोलको करियरकै सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म मान्छन् मानन्धर।

भन्छन्, ‘छड्के २ को व्यापार निकै कमजोर छ। यो अनमोलको करियरकै कमजोर ‌ओपनिङ गर्ने फिल्म हो। यस फिल्ममा दर्शक नै हुनुहुन्न। जसकारण हलले पनि शो घटाइसक्यो।’

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको ‘२.० छड्के’ रिभेन्ज ग्याङ्स्टर सिनेमा हो। फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell