PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

पूर्वराजा र ओलीलक्षित प्रचण्डको अभिव्यक्ति : प्रतिक्रियावादी माओवादीबाट तर्सिसके, भूतप्रेत बाटोमा निस्किँदैमा सपूतहरु सकिँदैनन्



पहिलोपोस्ट

पूर्वराजा र ओलीलक्षित प्रचण्डको अभिव्यक्ति : प्रतिक्रियावादी माओवादीबाट तर्सिसके, भूतप्रेत बाटोमा निस्किँदैमा सपूतहरु सकिँदैनन्

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू तेस्रोपटक प्रधानमन्त्री भएपछि जनयुद्धका समयमा भएका आन्दोलनलाई संस्थागत गर्न सफल भएको बताएका छन्। आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा प्रचण्डले उक्त भनाई राखेका हुन्।

'म पार्टीको अध्यक्ष भए पनि अहिले मैले नेपाल सरकारको प्रधानमन्त्रीका रुपमा बोल्नुपर्ने भएकोले धेरै बोल्न सम्भव छैन,' प्रचण्डले भने।

कार्यक्रममा माओवादी कमजोर हुँदै आएकोबारेमा प्रश्न उठेपछि प्रचण्डले आफूहरु कमजोर नभएको दाबी गरेका छन्।

'हामी कमजोर भएकोले हैन, माओवादी एक ठाउँमा हुँदा जबरजस्त प्रभाव छ भनेर विभिन्न भ्रम छर्ने र घेरा हाल्ने क्रम जारी छ,' प्रचण्डले भने, 'एक हुनुपर्छ भन्ने राम्रो हो। हामी एक भए लाखौं जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्ति कमजोर छन्। माओवादीले फेरि एकचोटि विजयको यात्रा गर्न सक्छ भन्ने विश्वास घटेको छैन।'

प्रचण्डले आफू तेस्रोपटक सरकारमा आएपछि जनयुद्धलाई संस्थागत गर्न तीन वटा महत्वपूर्ण कामहरु भइसकेको बताए।

'पहिलो काठमाडौंकै जगडोलमा सम्पूर्ण बेपत्ता योद्धा र सहिदहरुको स्मरण पार्क उद्घाटन गरे, दोस्रो जनयुद्ध दिवस मनाउन सफल भइयो, तेस्रो अहिले सरकारले फेरि जनयुद्धका सहिदलाई राष्ट्रिय सहिदका रुपमा सम्मान गर्ने मन्त्रिपरिषद्को निर्णय भइसक्यो,' प्रचण्डले भने,' यसले के भएको छ भने कार्ल मार्क्सले भने झै कहाँ हराउँछन् र सहिदहरु?'

राजतन्त्रवादीहरु सल्बलाउन थालेकोतिर इंगित गर्दै प्रचण्डले यस्तो हुँदैमा कोही नदबिनेसमेत बताए। 'दब्नेवाला छैनन्। केही भूतप्रेत बाटोमा निस्किँदैनमा जनताका महान सपूतहरु सकिँदैनन्,' उनले भने।

उनले प्रतिक्रियावादी माओवादीबाट तर्सिसकेकोसमेत दाबी गरे।

'सरकारका तर्फबाट सहिदहरुलाई सम्मान गर्ने प्रक्रिया एकपछि अर्को बढ्दा प्रतिक्रियावादी आतंकित भएका छन्। माओवादीबाट तर्सेका छन्,' प्रचण्डले भने, 'माओवादीविरुद्ध तथनाम भन्ने भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीति। भ्रम चिर्ने, घेरा तोड्ने माओवादीको रणनीति।'

आफू अहिले पनि माओवादीले उठाएको मुद्दाका लागि लडिरहेकोसमेत तर्क गरे। 'माओवादी एक ठाउँमा उभिएर जनतालाई अपिल गरेमा फेरि विजयको दिन हुनेछ,' उनले भने, 'यसका लागि मैले धेरै उतारचढाव पार गरेर फेरि देशको नेतृत्व गर्दै काम गरिरहेको छु। यो पटक भन्ने भन्दा गर्ने हो। म लडिराछु, गरिराछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell