PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

प्रचण्डलाई बाबुरामको सुझाव :  कुर्सीमै टाँस्सिएर मर्ने स्टालिन शैली त्यागौं, माओवादीको फुर्को फालेर नयाँ ठाउँ जाउँ



पहिलोपोस्ट

प्रचण्डलाई बाबुरामको सुझाव :  कुर्सीमै टाँस्सिएर मर्ने स्टालिन शैली त्यागौं, माओवादीको फुर्को फालेर नयाँ ठाउँ जाउँ

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादी शक्ति कमजोर हुँदै आएको बताएका छन्। 

'अभागीलाई खानेबेला रिस उठ्छ भने झैं भयो माओवादीलाई,' आइतवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको अन्तरक्रियामा बाबुरामले भने, 'भीरबाट लडेको ढुंगा झै हामी ओरालो लागेको छ लागेको छ। पहिलो संविधानसभाबाट संविधान बनाउन नसकेपछि हामी कमजोर हुँदै गयौँ।'

अब माओवादी नयाँ ठाउँमा गएर एक हुनुपर्नेसमेत उनको भनाइ थियो। 'हामी सबै अब नयाँ ठाउँमा जाउँ। माओवादी नयाँ ठाउँमा जानुपर्छ,' उनले भने।

कम्युनिस्ट पार्टीमा आजीवन नेतृत्वमा बस्ने प्रवृत्ति अहिले पनि कायम रहेकोले त्यो त्याग्नुपर्ने बाबुरामको भनाइ थियो। 'हामीले आत्मआलोचना गर्नैपर्छ। आजीवन नेतृत्वमा बस्ने, कुर्सीमै मर्ने स्टालिन शैली त्यागौ। त्यही माओले गर्नुभयो। यसले कम्युनिस्ट कमजोर भएको हो,' बाबुरामले भने, 'अब नयाँ पुस्ता आउनुस् त्यही भएर म चुनाव नलडेको। लडेको भए मलाई जनताले जिताएरै पठाउँथे। म हार्ने भएँ भनेर चुनाव नलडेको हैन। कति चोटि प्रधानमन्त्री हुने? एकचोटि भए पनि त्यही फोटो टाँस्ने हो अर्को चोटि भए पनि त्यही फोटो टास्ने हो।'

माओवादीको नाम राखेर फेरि पार्टी बनाउन ठीक नहुनेसमेत उनको तर्क थियो। अहिले बन्दुक बोकिराख्नुपर्ने अवस्थासमेत नरहेको बाबुरामले बताए।

'मुल रुपमा हामी सफल भएका छौं। लाखौं मरेर सकिएको भए ठिक हुने थियो त? भरुवा बन्दुक खोजीराख्नु जरुरी छैन। अहिले अर्टिफिसियल इन्टिलिजेन्स प्रयोग गर्न सक्छौ। घरमै बसेर लाखौंलाई अपिल गर्न सक्छौ,' उनले भने, 'फेरि माओवादी भनेर पुच्छर बनाएर पार्टी बनाउन आवश्यक छैन। माओ मरेकै ४० वर्ष भइसक्यो। फुर्कोहरु घेरेर राख्नहुँदैन।'

अहिले प्रधानमन्त्रीलाई मुद्दा लगाएर जिस्क्याउने कामसमेत भएको उनको भनाई थियो। 'जनयुद्धलाई अपराधीकरण गर्दैछ। बाहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने भनेको यो निहँ खोजेको हैन? गिरफ्तार गर्ने भनेको जिस्कएको होइन?' बाबुरामको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell