PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

१४ औं चिनियाँ जनकंग्रेसको पहिलो अधिवेशन : थपिने छ सिको कार्यकाल, प्रधानमन्त्री लि ख्छ्याङको 'बिदाई रिपोर्ट'



विधुर ढकाल

१४ औं चिनियाँ जनकंग्रेसको पहिलो अधिवेशन : थपिने छ सिको कार्यकाल, प्रधानमन्त्री लि ख्छ्याङको 'बिदाई रिपोर्ट'
फोटो : सिन्ह्वा

सांघाई : दशकमा दुईपटक हुने ठूलो राजनीतिक जमघटमा यतिबेला चीन जुटेको छ। चीनको १४ औं राष्ट्रिय जनकंग्रेसको पहिलो सत्र शनिवारबाट सुरु भएको छ। साढे ८ दिनसम्म चल्ने यो सम्मेलन मार्च १३ मा सकिनेछ। 

जनकंग्रेसको अधिवेशनमा देशभरका दुई  हजार ९७७ सदस्यहरु सहभागी छन्। चीनको संसदको रुपमा रहेको जनकंग्रेसका नयाँ सदस्यहरु आगामी पाँच वर्षे कार्यकालका आइतवारबाट सुरु गर्दैछन्। 

अधिवेशनले सरकार, जनकंग्रेसको स्थायी समिति, सर्वोच्च जनअदालत, सर्वोच्च जन न्यायाधिवक्ताको कार्यालयका वार्षिक कार्यप्रगति प्रतिवेदनमाथि समीक्षा गर्नेछ। यही अधिवेशनबाट चीनले नयाँ राज्य परिषद् गठनसमेत गर्नेछ। त्यस्तै केन्द्रीय तथा स्थानीय बजेटको वार्षिक मस्यौदा तथा कानुन संशोधनका विषयमा छलफल गर्नेछन्। 

यसअघि शनिवार चीनको उच्च राजनीतिक सल्लाहकार निकायको वार्षिक सत्र सम्पन्न भएको थियो। चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स (सीपीपीसीसी)को वार्षिक सत्र सम्पन्न भएको थियो। 

वार्षिक सत्रमा सीपीपीसीसीका राष्ट्रिय समितिका अध्यक्ष वाङ याङले वार्षिक प्रतिवेदन पेश गरेका थिए। गत वर्ष सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० औं राष्ट्रिय महाधिवेशनले पारित गरेको राजनीतिक कार्यदीशालाई अगाडि बढाउन यी 'दुई सत्र'ले योजना तर्जुमा गर्नेछन्।  

प्रधानमन्त्री लिको बिदाई प्रतिवेदन

जनकंग्रेसको यो सत्रसँगै प्रधानमन्त्री लि ख्छ्याङ बिदा हुँदैछन्। आइतवार सुरु भएको वार्षिक सत्रमा उनले सरकारको तर्फबाट वार्षिक कार्यप्रगति प्रतिवेदन पेश गरेका छन्। राज्य परिषद्को तर्फबाट आइतवारको पहिलो सत्रको उद्घाटन सत्रमा उने प्रतिवेदन पेश गरेका हुन्। 

त्यस्तै जनकंग्रेसको अधिवेशनमा आइतवार २०२३ को लागि वार्षिक बजेटको मस्यौदासमेत पेश भएको छ। यस वर्ष चीनले रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गरेको ग्लोबल टाइम्सले जनाएको छ। यस वर्ष १.५५३७ ट्रिलियन युआन (२२४.७९ अमेरिकी डलर) प्रस्ताव गरिएको छ। 

योसँगै चीनले ८ वर्ष देखि लगातार रुपमा रक्षा बजेटलाई एकनासले बढाउँदै आएको छ। सन् २०२० मा कोभिड १९ को महामारीका बीचमा पनि ६.६ प्रतिशत र २०२१ मा ६.८ र  २०२२ मा ७.१ प्रतिशतले बढाएको थियो। 

त्यस्तै चीनले २०२३ मा जीडीपी वृद्धि पाँच प्रतिशतले हुने लक्ष्य राखेको छ। जुन २०२२ मा ३ प्रतिशतले वृद्धि भएको थियो। चीनले सन् २०२७ मा पीएलएको आधुनिकताको शताब्दिक लक्ष्य र २०३५ मा आधुनिकिकरण तथा २१ औं शताब्दीको मध्यमा 'वर्ल्ड क्लास फोर्स'को रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ। २०२७ अगस्ट १ मा पीएलए स्थापनाको १०० वर्ष पूरा हुँदै छ। 

योसँगै सक्रिय राजनीतिबाट बिदा लिन लागेका लिले गत साता राज्य परिषद तथा विभिन्न मन्त्रालयमा पुगेर बिदाइ भेट गरेका थिए। २५ पृष्ठ लामो अन्तिम कार्यप्रतिवेदन पेश गर्दै लिले अघिल्ला पाँच वर्षको समीक्षा र आगामी वर्षको योजना सार्वजनिक गरे। 

उनले योजना सार्वजनिक गर्दैगर्दा आगामी वर्ष कुटनीति क्षेत्रमा १२.२ प्रतिशतसम्म बजेट वृद्धि हुन सक्ने संकेत गरेका छन्। उनले चीनले स्वतन्त्र र शान्तिपूर्ण विदेश नीतिलाई अंगिकार गर्नुपर्ने भन्दै विश्वको शान्ति तथा विकासका लागि काम गर्नुपर्ने बताए। 

त्यस्तै ताइवानको मामलामा उनले पृथकतावादी तथा हस्तक्षेपकारी शक्तिसँग चीनले एक भएर लडेको बताएका छन्। उनले ताइवान प्रश्नको समाधान एक चीन नीतिमार्फत हुनुपर्ने बताएका छन्। उनले ताइवान स्वतन्त्रताको विरोध र पुन:एकतालाई प्रवर्द्धन गर्न आवश्यक कदम चाल्ने पनि उल्लेख गरेका छन्। 

लिले बीआरआई मातहतमा रहेर चीनले उच्च गुणस्तरको साझर्दारीलाई प्रबर्द्धन गरेको भन्दै बीआरआई सदस्य राष्ट्रसँगको आयात निर्यातमा १३.४ प्रतिशतसम्मेल वृद्धि भएको तथ्यांक प्रस्तुत गरेका छन्। 

उनले चीन कम्प्रिहेन्सिभ एण्ड प्रोग्रेसिभ अग्रिमेन्ट फर ट्रान्स प्यासिफिक पार्टनरसिपमा सहभागी हुने सक्रिय कदम चाल्नेसमेत बताए। टीपीपी ११का नामले चिनिने यो संस्था अष्ट्रेलिया क्यानडा जापान मलेसिया, मेक्सिकोसहितका देश सहभागी छन्। २०१६ मा यससम्बन्धी समझदारीमा हस्ताक्षर भए पनि डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिका पछि हटेको थियो। त्यसयता यो सक्रिय हुन सकेको छैन। 

लि छियाङ बन्दैछन् नयाँ प्रधानमन्त्री 

जनकंग्रेसको आइतवारदेखि सुरु भएको अधिवेशनले निर्विकल्प सीपीसीका महासचिव सि चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित गर्ने छ। 

त्यसका अलावा लि छियाङ प्रधानमन्त्री बन्नेछन्। उनी सीपीसीको २० औं महाधिवेशनबाट दोस्रो बरीयतामा स्थापित भएका थिए। त्यस्तै कार्यकारी उपप्रधानमन्त्रीको रुपमा तिङ स्युसियाङको नाम पारित हुन सक्नेछ। उनी सीपीसीको पोलिटब्युरो स्थायी कमिटीमा छैठौँ तहमा छन्। 

सांघाईको नेतृत्व गरिसकेका लिले अब विश्वको दोस्रो ठूलो अर्थतन्त्रको नेतृत्व गर्नुपर्ने छ। उनको काँधमा कोभिड-१९ का कारण मारमा परेको चिनियाँ अर्थतन्त्रलाई उकास्नुपर्ने जिम्मेवारी छ। 

राष्ट्रपछि सिको भित्री घेरामा रहेका 'प्रो-बिजनेस' हुन्। सन् २००४-२००७ सम्म सि चचियाङ प्रान्तको प्रमुख हुँदा उनका प्रमुख सहयोगीका रुपमा काम गरेका थिए लिले। उनी नीति  तथा कार्यन्वयन कार्यान्वयनका हस्तीसमेत हुन्। 

सिले आफ्ना नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि २००४ तिरकै सहयोगीलाई अगाडि बढाउन लागेका हुन्। सिको निकै विश्वासको पात्र भएका कारण उनले धेरै काम गर्न सक्ने अपेक्षा गरिएको छ। 'उनको मुख्य गुण भनेकै सि चिनफिङसँग नजिकको सल्लाहकारको रुपमा धेरै लामो समय काम गरेका छन्,' ग्लोबल सोर्स पार्टनरका चीन विश्लेषक एन्ड्रु कोलियरले साउथ चाइना मर्निङ पोस्टसँग भनेका छन्। 

बेइजिङको 'शुन्य कोभिड नीति' हटाउनुका पछाडि धेरैले उनको हात रहेको विश्वास गर्छन्। नीजि क्षेत्रको साथमा लिएर आर्थिक विकासमा उनले चचियाङ प्रान्तमा खेलेको भूमिकालाई सबैले सम्झिन्छन्। 

सांघाईको पार्टी प्रमुख भएर काम गर्दा उनले सांघाईमा कम्पनी स्थापना गर्न विदेशी लगानी भित्राउन सहज वातावरण बनाइदिएका थिए। उनले सांघाईमा टेस्लाको सुपर फ्याक्ट्री बनाउन तीब्र गतिमा काम अगाडि बढाएका थिए। 

२०१३ मा चचियाङको प्रमुख हुँदा उनले दिएको एक अन्तर्वार्तामा माइक्रो इकोनोमिक्स सम्बन्धी गतिविधिमा हुने सरकारको हस्तक्षेप घटाउनुपर्ने बताएका थिए।  

उनी निजि क्षेत्र तथा व्यवसायीलाई साथमा लिएर हिड्नुपर्ने मान्यता भएका नेता हुन्। यदि उनको यो पदमा नियुक्ति तीन दशक यताकै पहिलो नियुक्ति हुने छ - जसमा केन्द्र सरकारको कुनै काममा अनुभव छैन र पश्चिम चीनमा कुनै अनुभव छैन। यस अघिका प्रधानमन्त्रीहरु लि ख्छ्याङ, वेन जियावाओ र चौ रोङचेइ प्रधानमन्त्री हुनुभन्दा अगाडि पाँच वर्ष कार्यकारी उपप्रधानमन्त्रीको अनुभव हासिल गरेका थिए। 

केन्द्र सरकारको अनुभव नभए पनि स्थानीय अर्थतन्त्रलाई उकास्न र प्रान्तलाई समृद्ध बनाउन उनले खेलेको भूमिका र अनुभव चीनको अर्थतन्त्रलाई माथि उकास्न भने उनले प्रयोग गर्न सक्छन्। 

त्यस्तै उपप्रधानमन्त्रीको रुपमा सीपीसीका पोलिटब्युरो सदस्यहरु ह लिफङ, लिउ क्वोझोङ, झाङ क्वोछिङ आगामी उपप्रधानमन्त्रीको रुपमा चर्चामा छन्। 

त्यस्तै स्टेट काउन्सिलरको लागि पनि केही नयाँ अनुहारहरु चर्चामा छन्। यसपटक चीनका लागि अमेरिकी राजदूत हुँदै गर्दा विदेश मन्त्रीमा बढुवा भएका छिङ काङ, पूर्व चियाङसु र कुइझौ प्रान्तका पार्टी प्रमुखहरु वु झङलोङ र सेन यीछिन पनि चर्चामा छन्। त्यस्तै केन्द्रीय सैन्य आयोगका सदस्य लि सानङफु पनि स्टेट काउन्सिलरमा आउनेछन्। 

त्यस्तै जनकंग्रेसको स्थायी कमिटीको अध्यक्षमा लि चन्सुलाई प्रतिस्थापन गर्दै चाओ लजी चिनको तेस्रो वरीयताको नेता बन्ने छन्। हाल उनी सीपीसीको केन्द्रीय कमिटीमा तेस्रो वरीयतामा छन्। त्यस्तै वाङ याङलाई प्रतिस्थापन गर्दै वाङ हुनिङ सीपीपीसीसीको अध्यक्षता लिँदै छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell