PahiloPost

Mar 16, 2025 | २ चैत्र २०८१

यूएई पपुवा न्युगिनीसँग पराजित



पहिलोपोस्ट

यूएई पपुवा न्युगिनीसँग पराजित
Photo: Emirates Cricket

काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज सम्पन्न खेलमा पपुवा न्युगिनीले यूएईलाई हराएको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा सम्पन्न खेलमा पपुवा न्युगिनीले यूएईमाथि ५ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको यूएईले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले २६.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती ब्याटिङमा उत्रिएको यूएईका शीर्षक्रमका चारजना बाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न नसक्दा ब्याटिङमा निरिह प्रदर्शन गरेको थियो।

यूएईका ओपनर मोहम्मद वसीमले १९ तथा आशिफ खानले ११ रन बनाउँदा सूरुवाती ब्याटिङ ठीकठाक भएको थियो। त्यस्तै बृत्य अरविन्दले सर्वाधिक २६ रन बनाउँदै यूएईको स्कोर उकास्ने प्रयत्न गरे। तर उनी पछि आएका कप्तान सीपी रिजवानले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले संघर्ष गर्दा यूएई समान्य स्कोरमा समेटिन पुग्यो। यूएईका रोहन मुस्तफा, आर्यन लार्का, आयान अफ्जल खान, जुनैद सिद्दकी र सबिर अलीले स्कोर नै गर्न सकेनन्।

बलिङतर्फ पीएनजीका रिले हेकुरेले सर्वाधिक ५ विकेट लिँदा चाड सोपरले ३ तथा चार्ल्स अमिनीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पीएनजीलाई पनि सामान्य लक्ष्य पछ्याउन सहज भने भएन। पीएनजीका ओपनर टोनी उराले सर्वाधिक अविजित ३५ रन बनाउँदा सेसे बाउले १८ तथा हिरी हिरीले १४ रन बनाए। त्यसबाहेक किप्लिङ डोरिगा, असद भाला, चार्ल्स अमिनी र चाड सोपरले दोहोरो अंकको रन बनाउन सकेनन्।

जितसँगै पीएनजी ३२ खेलबाट ९ अंक जोड्दै तालिकाको पुछारमा छ भने यूएई ३१ खेलबाट ३१ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ। सोमवार यूएईले नेपालसँग प्रतिस्पर्धा गर्दैछ। ३१ खेलबाट ३० अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell