काठमाडौ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा संकटा क्लब र त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएका छन्। लिगमा बलियो टोलीमध्येमा हेरिएका यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्।
मुख्य खेलाडी चोटबाट गुज्रँदा दुबै टोलीको आक्रमण कमजोर देखिएको थियो संकटाका राष्ट्रिय टोलीका खेलाडी आयुस घलान घाइते हुँदा आर्मीका कप्तान भरत खवास, जगजित श्रेष्ठलगायतका खेलाडी चोटका कारण मैदान उत्रिएनन्।
'खेलाडीले अपेक्षा गरेभन्दा राम्रो खेले। आज तीन अंक लिन नभए अंक नगुमाउने लक्ष्य थियो। एक अंक पनि नराम्रो होइन,' संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, 'आज भएको कमजोरी सुधारेर अर्को खेलमा सुधार गरेर आउनेछौँ।'
त्यस्तै आर्मीका सहायक प्रशिक्षक राजु तामाङले भने लिग जित्ने लक्ष्यका साथ आएकाले आजको प्रदर्शन सोचे अनुरुप नभएको बताए।
'धेरै पछि लिग सुरुहुँदा जितकै अपेक्षा। खेलाडीले इन्डिभिजुअ प्रदर्शन गर्न नसक्दा चुक्नु पर्यो,' सहायक प्रशिक्षक तामाङले भने, 'हाम्रोमा कमीकमजोरी छ। धेरै सुधार्नुपर्नेछ। नयाँ र पुरानो खेलाडीको कम्बिनेसन मिलाउने कोशिषमा छौँ।'
खेलाडी विदेशीँदा टिमको कम्बिनेसनमा धेरै प्रभाव परेको उनले बताए।
'लेफ्ट ब्याकमा सुमन अर्याल, सेन्ट्रल मिडफिल्डमा सन्तोष तामाङको अभाव खड्किरहेको छ। टीममा युवा र अनुभवी खेलाडीबिच कम्बिनेसन बनाउने कोशिष गरिरहेका छौँ।' उनले भने।
त्यस्तै आजै च्यासल मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम एनआरटीलाई हराउँदै सुखद सुरुवात गर्यो। सातदोबाटोले एनआरटीमा २-१ गोलको जित निकालेको हो। सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गर्दा एनआरटीका निकोलस सङले सान्त्वना गोल फर्काए।