काठमाडौंः नेपाल चीन सीमा क्षेत्र मुस्ताङमा भारतलाई विश्वविद्यालय खोल्न अनुमति दिएको भन्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दाबीलाई नेपाल सरकारले खण्डन गरेको छ। चीनलाई चिढ्याउने हिसाबले भारतको स्वार्थ पूरा गर्न सरकारले मुस्ताङको मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय खोल्ने अनुमति दिएको दाबी ओलीले गरेका थिए।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वक्तव्य जारी गर्दै उक्त अभिव्यक्तिको खण्डन गरेकी हुन्। मन्त्रिपरिषद्बाट त्यस्तो कुनै पनि निर्णय नभएको पनि वक्तव्यमा दाबी गरिएको छ।
शर्माको वक्तव्यमा भनिएको छ, ‘मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमुक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वद्यिालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ। नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौं।’
भारतीय दूतावासले लेखेको पत्रबारेको समाचारबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने पनि वक्तव्यमा जनाइएको छ।