PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

त्रासले एकै मञ्चमा उभिएका ६ भाई माओवादी, ‘अपराधी भन्नेहरु जनयुद्धमा भेटिएका भए सिद्धिने थिए’



प्रकाश भण्डारी

त्रासले एकै मञ्चमा उभिएका ६ भाई माओवादी, ‘अपराधी भन्नेहरु जनयुद्धमा भेटिएका भए सिद्धिने थिए’

काठमाडौं: तत्कालीन नेकपा (माओवादी) विभाजन भएर टुक्राटुक्रा भएको वर्षौँ भइसक्यो। द्वन्द्वका बेलाको माओवादी शीर्ष नेतृत्व एउटै पार्टीमा छैनन्। विभाजित भएका पार्टीमा फेरि फुट र त्यसमा पनि विभाजन भएर एकपछि अर्को पार्टी बनिरहेका छन्। खण्ड-खण्ड भएका माओवादीलाई युद्धकालका घटनाले झस्काइरहेको छ। जसलाई माओवादी नेताले षड्यन्त्र भन्ने गरेका छन् भने पूर्वमाओवादी एकता नहुँदा आफूमाथि प्रहार भएको विश्लेषण उनीहरूको छ।

आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पनि माओवादीका नेताहरूले अहिले आफूमाथि प्रहार भइरहेको आरोप लगाए। त्यसलाई चिर्न एकता सम्भव नभए मोर्चाबन्दी आवश्यक भएको उनीहरूको भनाइ थियो। माओवादीलाई बिझाएको पछिल्लो घटना हो -प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेश।

२०७६ को माघीमा खुल्लामञ्चमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धकालमा मारिएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएका थिए। उक्त अभिव्यक्तिविरुद्धको रिट दर्ता गर्न अदालतले शुक्रबार आदेश दिएको हो।

माओवादी केन्द्रले वक्तव्य जारी गरेर आइतबार आदेशको विरोध गरिसकेको छ। महासचिव देवप्रसाद गुरुङले माओवादीलाई एक हुन अपिल समेत गरे।

‘घेरा हाल्ने षडयन्त्र’

प्रचण्डले आइतबार आफू प्रधानमन्त्री भएकाले सबै कुरा भन्न सम्भव नभएको बताए। अदालतको आदेशलाई लक्षित गरेर घेराबन्दीको प्रयास भएको उनको टिप्पणी थियो। एकता हुनुपर्छ भन्नु नै माओवादीको शक्ति भएको उनले बताए।

‘सबै कुरा भन्न अहिले सम्भव छैन। हामी कमजोर भएको कारणले होइन। माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले विभिन्न धारामा भए पनि तिनीहरू एक ठाउँमा हुँदा जबर्जस्त प्रभाव छ भन्ने बुझेर नै प्रतिक्रियावादीहरुले भ्रम छर्ने र घेरा हाल्ने षडयन्त्र गरिरहेकै छन्,’ उनले भने।

प्रचण्डले आफूइतरमा रहेका राजनीतिक दल र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर माओवादी मिले उनीहरू कमजोर हुने बताए।

‘एक पटक माओवादीहरू एक ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि विजयी यात्रा सुरु गर्नेछ भन्ने विश्वास छ,’ प्रचण्डको भनाइ छ।

साना साना टुक्रामा रहेका माओवादीहरू मिल्ने अवस्था आएको बताएका प्रचण्डले कसरी मिल्ने भन्नेबारेमा भने केही बताएनन्।

‘माओवादी आन्दोलन ठूलो प्रवाहको रूपमा अघि बढ्यो। शान्ति प्रक्रियापछि विभिन्न भँगालातिर विभाजित भयो। समयमा फेरि सबै भँगाला एक ठाउँमा मिसिएर सागर बन्ने बेला आयो,’ उनले भने।

शान्ति प्रक्रियादेखि करेक्सन

प्रचण्डले गरेको एकता प्रस्तावलाई भने नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य दिनेश शर्माले क्रान्तिको कार्यभार पूरा नभएको भन्दै झुटो आश्वासन बाँड्न नहुने बताए। उनले गल्तीप्रति सच्चिन तयार भए मात्रै एकता सम्भव हुने टिप्पणी गरे।

‘सामन्तवादलाई अन्त्य र साम्राज्यवादलाई परास्त नगरी दुईटा जनवादी क्रान्ति पूरा हुँदैन थियो। हो यो प्रक्रियाबाट हामी अगाडि बढेका थियौँ तर शान्ति प्रक्रियामा आइसकेपछि यहाँनिरबाट विषयवस्तु बिग्रियो,’ शर्माको भनाइ थियो।

उनले शान्ति प्रक्रियादेखिकै गल्ती सच्याउनुपर्ने प्रस्ताव गरे। राजतन्त्र हटाएर मात्रै जनवादी क्रान्ति पूरा नहुने भएकाले अहिलेको सत्ता दलाले चलाइरहेको उनको आरोप थियो। यो सबै छोडेर प्रचण्ड पहिला तयार हुनुपर्ने उनले बताए।

‘बिग्रिएको कुरालाई करेक्सन नगरी फेरि त्यही ठाउँबाट केही गर्छौँ भन्ने हो भने त्यो सत्य होइन। सत्य कुरा होइन भने हामीले भन्नुहुन्न। पछिल्लो चरणमा आउँदाखेरि सामन्तवादको मूल प्रतिनिधि राजतन्त्रलाई हामीले फाल्यौँ तर साम्राज्यवाद र विस्तारवादलाई परास्त गर्न सकेनौँ। सर्वहाराको हातमा आउनुपर्ने राज्यसत्ता दलालको हातमा गयो,’ उनले भने।

‘विप्लवलाई वारेन्ट जारी हुँदा कति बोल्यौँ?’

नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) ले माओवादी जति सबै आन्दोलनमा उत्रिन आह्वान गरे। प्रचण्डले माओवादी मिल्नुपर्ने भन्दै गरेको प्रस्तावमा समर्थन जनाएका उनले प्रचण्डपछि पनि नेपालमा विभिन्न रूपमा माओवादी रहनुपर्ने तर्क पनि गरे। तर एक नेताले अर्कालाई गाली मात्रै गरेर नहुने उनको भनाइ थियो।

‘विप्लवलाई वारेन्ट जारी गर्दा कति बोल्यौँ। कमरेड प्रचण्डलाई आज वारेन्ट जारी गर्दा के बोल्यौँ। अब छिट्टै सबै माओवादी आन्दोलनमा उत्रनुपर्छ,’ उनको भनाइ थियो।

माओवादी आन्दोलनमा भएका कमी कमजोरी सच्याएर अघि बढ्न सकिने उनको भनाइ थियो ‘माओवादी आन्दोलनलाई रूपान्तरणसहितको एकता गरेर अगाडि बढौँ,’ बुढाथोकीले भने।

‘भरुवा बन्दुक खोजीराख्नु जरुरी छैन’

प्रचण्डसँगको सहकार्यमा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई भने अब माओवाद भनेर मात्रै बस्न नहुने तर्क गर्छन्। पहिलो संविधान सभाबाट संविधान बनाउन नसकेपछि माओवादी कमजोर भएको र माओवादी सरकारमा नभएका बेलामा एकपछि अर्को प्रहार भएको बाबुरामको भनाइ थियो।

‘भीरबाट लडेको ढुङ्गाझैँ हामी ओरालो लागेको छ लागेको छ। पहिलो संविधान सभाबाट संविधान बनाउन नसकेपछि हामी कमजोर हुँदै गयौँ,’ भट्टराईले भने।

पार्टी एकता नभए मोर्चाबन्दी गर्नुपर्ने प्रस्ताव गरेका भट्टराईले प्रचण्डलाई लक्षित गरेर पटक पटक प्रधानमन्त्री भएर मात्रै उपलब्धि नहुने टिप्पणी गरे।

‘हामीले आत्मालोचना गर्नै पर्छ। आजीवन नेतृत्वमा बस्ने, कुर्सीमै मर्ने स्टालिन शैली त्यागौँ। त्यही माओले गर्नुभयो। यसले कम्युनिस्ट कमजोर भएको हो। अब नयाँ पुस्ता आउनुस् त्यही भएर म चुनाव नलडेको। लडेको भए मलाई जनताले जिताएरै पठाउँथे। म हार्ने भएँ भनेर चुनाव नलडेको हैन। कति चोटी प्रधानमन्त्री हुने? एकचोटी भए पनि त्यही फोटो टाँस्ने हो अर्को चोटी भए पनि त्यही फोटो टाँस्ने हो,’ उनले भने।

पूर्वमाओवादी जति एक ठाउँमा आउनुपर्ने बताएका बाबुरामले अब माओवादीको फुर्का जोडिरहनु जरुरी नभएको बताए।

‘मूल रूपमा हामी सफल भएका छौँ। लाखौँ मरेर सकिएको भए ठिक हुने थियो त? भरुवा बन्दुक खोजीराख्नु जरुरी छैन। अहिले अर्टिफिसियल इन्टिलिजेन्स प्रयोग गर्न सक्छौँ। घरमै बसेर लाखौँलाई अपिल गर्न सक्छौँ। फेरि माओवादी भनेर पुच्छर बनाएर पार्टी बनाउन आवश्यक छैन। माओ मरेकै ४० वर्ष भइसक्यो। फुर्को घेरेर राख्नहुँदैन,’ उनले भने।

धर्मेन्द्रका प्रश्न नै प्रश्न

अरू नेता प्रचण्ड- बाबुरामप्रति नरम बन्दा नेकपा (बहुमत) पार्टीका संयोजक धर्मेन्द्र बास्तोला भने कठोर रूपमा प्रस्तुत भएका थिए। प्रचण्डले सरकारमा भएका बेलामा बोल्न नसक्ने भन्नु उनले सरकार नचलाइरहेको भन्ने पुष्टि हुने उनको भनाइ थियो। बाबुरामले भने तथ्यकै तोडमोड गरेर बोलेको आरोप बास्तोलाले लगाए।

‘बाबुरामले तोडमोड गर्नुभयो खाने बेलामा भन्नुभयो। तोडमोड गरेर जानुभयो भने युद्धप्रतिको अपमान हुन्छ। त्यो बाबुरामले गर्नु हुँदैन। यो संविधानबाट बहुमत ल्याएर मात्रै होइन शतप्रतिशत ल्याएर मात्रै होइन देशको हितका पक्षमा कुनै काम गर्न सक्दैन,’ बास्तोलाको भनाइ थियो।

अहिलेको सरकारले कुनै काम गर्न नसक्ने ठोकुवा पनि बास्तोलाले गरे। माओवादी एकताबारे भने उनले खासै केही बताएनन्।

विप्लवको धम्कीपूर्ण भाषण

अरु नेताभन्दा आक्रोशित रूपमा प्रस्तुत भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी भन्नेहरूलाई ठेगान लगाउने ताकत भएको चेतावनी दिए। उनले माओवादी एक ठाउँमा आउनुपर्ने स्थिति आइसकेको बताए।

‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउन खोजियो। इतिहास दोहोरिन्छ। हेक्का राखे हुन्छ फेरि माओवादी फर्किन्छ। माओवादीलाई अपराधी भन्नेहरू जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिन्थे। माओवादीलाई अपराधी भन्नेहरूलाई ठेगान लगाउने तागत हामीसँग छ,’ उनले भने।

प्रचण्डविरुद्ध अदालतले दिएको आदेशको आफूले विरोध गरिसकेको भन्दै द्वन्द्वका घटनामा माओवादीलाई फसाउने चेष्टा नगर्न पनि आग्रह गरेका थिए।

‘हामी अपराधी होइनौँ। अपराधी भनेर जुन व्याख्या गर्न खोजिँदै छ, यदि ती मान्छे जनयुद्धमा भेटिएको भए त्यहीँ सिद्धिने थिए,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell