काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।
सोमवार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।