PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

साविक लिग विजेताको हार, दुई नवप्रवेशीको जित : ‘ए’ डिभिजनको पहिलो चरणमा फेरिएको नतिजा



मुकुन्द घिमिरे

साविक लिग विजेताको हार, दुई नवप्रवेशीको जित : ‘ए’ डिभिजनको पहिलो चरणमा फेरिएको नतिजा

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आजबाट दोस्रो चरणका खेल सुरु हुँदैछ। लिगको साविक विजेता मछिन्द्र क्लब आइतवार जावलाखेल युथ क्लबसँग पराजित भएसँगै पहिलो चरणका खेलहरु सकिएका हुन्।

दुई नवप्रवेशीको जित

फागुन १९ गतेबाट सुरु भएको शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमै ‘बी’ डिभिजन लिगबाट अघिल्लो सिजन ‘ए’ डिभिजन लिगमा उक्लिएको एफसी खुमलटारले फ्रेन्ड्स क्लबलाई हरायो। ‘ए’ डिभिजन लिगको यस्तै डेब्यु जित अर्को क्लब चर्च ब्वाइज युनाइटेडको पनि रह्यो।

‘बी’ डिभिजनको च्याम्पियन बनेर ‘ए’ डिभिजनमा आएको चर्च ब्वाइजले च्यासल स्टेडियममा नेपाल पुलिस क्लबलाई हराउँदै सुखद सुरुवात गर्‍यो।

साविक लिग विजेताको हार

पहिलो चरणको अन्तिम खेलमा यसअघिका दुई सिजन च्याम्पियन बनेको मछिन्द्र क्लब पराजित हुन पुग्यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतवार सम्पन्न खेलमा मछिन्द्र क्लब जावलाखेल युथ क्लबसँग ३-१ गोलअन्तरले पराजित भएको हो।

लिगको पहिलो गोलमाथि नै विवाद?

लिगको उद्घाटन खेलमा एफसी खुमलटारले फ्रेन्ड्स क्लबमाथि १-० गोलको जित निकाल्यो। मेसुके ओलोमोउले गरेको उक्त गोल विवादरहित भने रहन सकेन।

खेलको निर्धारित समयको अन्तिम मिनेट बाँकी छँदा खुमलटार एफसीका मेसुके ओलोमोउले गोल गर्दै खुमलटारको जितमा निर्णायक बनेका थिए। फ्रेन्ड्स क्लबका प्रशिक्षक उर्जन श्रेष्ठले उक्त गोल गर्न हातको प्रयोग गरिएको दाबी गरे।

‘जुन गोल हामीले खायौँ त्यो बल मेसुकेले हातले तानेर गोल लागेको खेलाडीहरुले भने’, प्रशिक्षक श्रेष्ठले भने, ‘मैले टाढाबाट देखिनँ, रेफ्रीले पनि देखेनौँ भने। नजिक भएका हाम्रो खेलाडीले भने हातले तानेर गोल गरेको भने।’

यद्यपि, उनको आरोपलाई खुमलटारका सहायक प्रशिक्षक मदन राईले ठाडै अस्वीकार गरे। भने, ‘फर्स्टबारबाट गएको गोल हो। हात प्रयोग भएको भन्ने कुरा गलत हो।’

दुई बराबरी, बाकीँमा हारजित : ककसले जोडे अंक?

लिगको पहिलो चरणमा दुईवटा खेल बराबरीमा रोकिए। जसमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पाले १-१ गोलको तथा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले गोलरहित बराबरी खेले। बाँकीका खेलमा निर्णयक गोलहरु भए।

पहिलो चरणबाट जावलाखेल युथ क्लब, एपीएफ फुटबल क्लब, सातदोबाटो युथ क्लब, चर्च ब्वाइज युनाइटेड र एफसी खुमलटारले जित निकाल्न सफल हुँदा नेपाल पुलिस क्लब, न्युरोड टिम, फ्रेन्ड्स क्लब, थ्री स्टार क्लब, मछिन्द्र क्लब अंक जोड्न असफल भए।

पहिलो चरणको नतिजा

एफसी खुमलटार १-० फ्रेन्ड्स क्लब

चर्च ब्वाइज युनाइटेड २-१ नेपाल पुलिस क्लब

एपीएफ एफसी २-० थ्री स्टार क्लब

मनाङ मर्स्याङदी क्लब १-१ हिमालयन शेर्पा क्लब

न्युरोड टिम १-२ सातदोबाटो युथ क्लब

त्रिभुवन आर्मी क्लब ०-० संकटा क्लब

मछिन्द्र एफसी १-३ जावलाखेल युथ क्लब

मंगलवारबाट दोस्रो चरण

मंगलवारबाट लिगका दोस्रो चरणका खेलहरु सुरु हुँदैछन्। दोस्रो चरणको पहिलो दिनको खेलमा चर्च ब्वाइज र खुमलटार एफसी एन्फा कम्प्लेक्समा र फ्रेन्ड्स क्लब र थ्री स्टार क्लब च्यासल रंगशालामा दिउँसो साढे २ बजे प्रतिस्पर्धा गर्नेछन्।

बुधवार लिगका तीन खेल हुनेछन्। जसमा पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब दशरथ रंगशालामा तथा एपीएफ र सातदोबाटो क्लब च्यासल रंगशालामा दिउँसो साढे २ बजे भिड्नेछन्। त्यस्तै, तेस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र संकटा क्लब दशरथ रंगशालामा साढे ५ बजे भिड्नेछन्।

बिहीवार लिगको दोस्रो चरणका अन्तिम दुई खेल हुनेछन् जसमा न्युरोड टिम र जवालाखेल एन्फा कम्प्लेक्समा र त्रिभुवन आर्मी र मछिन्द्र क्लब च्यासल स्टेडियममा दिउसो साढे २ बजे प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell