काठमाडौं : नेपाली क्रिकेट टोली यूएईविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको छ। यूएईस्थित दुबई क्रिकेट स्टेडियममा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
नेपाल र यूएई नयाँ प्रतिद्वन्द्वी होइनन्। पछिल्ला पाँच खेलमा यूएई र नेपालबिच भएका पाँच खेलमा यूएईले तीन जित निकाल्दा नेपालले दुईवटा खेलमा जित निकालेको छ। युएई सिरिजकै यसअघिको खेलमा पनि यूएईले नेपाललाई ६८ रनले हराएको थियो।
नेपाल र युएई दुवै टोली क्रिकेट विश्वकप लिग २ को शीर्ष तीन भित्र रहँदै विश्वकप छनोट खेल्ने होडमा छन्। जसमध्ये स्कटल्याण्ड र ओमनले यसअघि नै शीर्ष दुईमा स्थान पक्का गरेकोमा यूएई, नेपाल र नामिबिया शीर्ष तीनको पर्खाइमा छन्।
नामिबियाले सबै ३६ खेल खेलेर हाल तेस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा कायम रहनका लागि नामिबिया बाँकी रहेका नेपाल, यूएई र पीएनजीबिचको खेलमा आफू अनुकुलको नतिजा चाहन्छ।
नामिबियाले ३९ अंक जोड्दै तेस्रो स्थानमा रहँदा ३६ खेल खेलिसकेर ३५ अंक जोडेको अमेरिका शीर्ष तीनको होडबाट बाहिरिसकेको छ। पाँचौँ स्थानमा ३१ खेलबाट ३१ अंक जोडेको यूएई र छैटौँ स्थानमा ३१ खेलबाट ३० अंक जोडेको नेपाल छ।
नेपालले आजको खेलमा यूएईलाई हराउन सके पाँचौ स्थानमा उक्लने छ भने शीर्ष तीनको होडमा पनि कायम रहने छ। तर, नेपालले पराजय ब्यहोरेको खण्डमा शीर्ष तीनको होडबाट बाहिरिने छ र एकदिवसीय मान्यता जोगाउनका लागि अमेरिका र यूएईभन्दा माथि अंक जोड्दै शीर्ष चारमा रहने लक्ष्य बन्ने छ।
नेपाली टोलीमा अघिल्लो खेलको भन्दा एक परिवर्तन भएको छ। नियमित ओपनर कुशल भुर्तेल चोटका कारण बाहिरिँदा देब्रे हाते बलर प्रतिश जिसीले टोलीमा स्थान बनाएका छन्।
नेपाली प्लेइङ ११
आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, कुशल मल्ल, भीम सार्की, करण केसी, आरिफ शेख, प्रतिश जिसी, सोमपाल कामी, सन्दीप लामिछाने