काठमाडौँ: नेपाली क्रिकेट टोलीले यूएईलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।
क्रिकेट विश्वकप लिग २ अन्तर्गत यूएईमा जारी सिरिजको अन्तिम खेलमा नेपाली टोलीले सुरुबाटै ब्याटिङमा संघर्ष गरेको थियो। तर मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्दा राम्रो फिनिसिङ गर्न सफल भयो।
यसक्रममा भीम सार्कीले नेपालको धर्मराएको ब्याटिङलाई सम्हाल्दै अर्धशतकीय पारि खेले।उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक हो।
उनले ३९.३ ओभरमा पाँच चौकाको सहायतमा अर्धशतक प्रहार गर्दै ब्याटिङमा संघर्ष गरिरहेको नेपाललाई राहत दिलाए। उनी ९९ बलमा ७० रन बनाएर आउट भए।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालको फितलो सुरुवात भयो। ओपनर आशिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा उत्कृष्ट लयमा रहेका कुशल मल्ल ३२ रन बनाउँदै पभेलियन फर्किए। त्यस्तै भरपर्दा ब्याट्सम्यान रोहित कुमार पौडेल पनि १ रन र दीपेन्द्र सिंह ऐरी ४ रनआउट हुँदा नेपाल ६८-५ को कमजोर अवस्थामा पुगिसकेको थियो। त्यसपछि आएका सन्दीप लामिछानेले भीम सार्कीसँग ५६ रनको साझेदारी गर्दै नेपालको पारि उकास्न मद्धत गरे। लामिछानेले ४० बलमा २७ रन बनाए।
त्यस्तै अनुभवी ब्याट्सम्यान आरिफ शेखको प्रदर्शन पनि सुझबुझपूर्ण रह्यो। भीम पछि नेपालको ब्याटिङमा उनी दर्बिलो देखिए। उनी ४३ रनमा अविजित रहँदा प्रतिश जिसी ११ रनमा अविजित रहे। त्यसअघि आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै ११ बलमा १७ रन बनाएका थिए।
बलिङतर्फ यूएईका जुनैद सिद्दकीले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्तफा र आर्यन लार्काले समान २ विकेट लिए। त्यस्तै कार्तिक मेइयाप्पनले १ विकेट लिए।
यूएई केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।