PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

यूएईमाथि नेपालको रोमाञ्चक जित: तालिकाको पाँचौँ स्थानमा उक्लियो, शीर्ष तीनको सम्भावना अझै



पहिलोपोस्ट

यूएईमाथि नेपालको रोमाञ्चक जित: तालिकाको पाँचौँ स्थानमा उक्लियो, शीर्ष तीनको सम्भावना अझै
फाइल फोटो क्यान

काठमाडौँ: क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज यूएईमा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराएको छ। यूएईस्थित दुबई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले यूएईमाथि ४२ रनको जित  निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई  ४५ ओभरमा १८७ रनमा समेटियो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपाली टोलीले सुरुबाटै ब्याटिङमा संघर्ष गरेको थियो। तर मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्दा राम्रो फिनिसिङ गर्न सफल भयो।

यसक्रममा भीम सार्कीले नेपालको धर्मराएको ब्याटिङलाई सम्हाल्दै अर्धशतकीय पारि खेले।उनको यो एकदिवसीय अन्तर्राष्ट्रियमा उनको यो पहिलो अर्धशतक हो।

उनले ३९.३ ओभरमा पाँच चौकाको सहायतमा अर्धशतक प्रहार गर्दै ब्याटिङमा संघर्ष गरिरहेको नेपाललाई राहत दिलाए। उनी ९९ बलमा ७० रन बनाएर आउट भए।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालको फितलो सुरुवात भयो। ओपनर आशिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट हुँदा उत्कृष्ट लयमा रहेका कुशल मल्ल ३२ रन बनाउँदै पभेलियन फर्किए। त्यस्तै भरपर्दा ब्याट्सम्यान रोहित कुमार पौडेल पनि १ रन र दीपेन्द्र सिंह ऐरी ४ रनआउट हुँदा नेपाल ६८-५ को कमजोर अवस्थामा पुगिसकेको थियो। त्यसपछि आएका सन्दीप लामिछानेले भीम सार्कीसँग ५६ रनको साझेदारी गर्दै नेपालको पारि उकास्न मद्धत गरे। लामिछानेले ४० बलमा २७ रन बनाए।

त्यस्तै अनुभवी ब्याट्सम्यान आरिफ शेखको प्रदर्शन पनि सुझबुझपूर्ण रह्यो। भीम पछि नेपालको ब्याटिङमा उनी दर्बिलो देखिए। उनी ४३ रनमा अविजित रहँदा प्रतिश जिसी ११ रनमा अविजित रहे। त्यसअघि आएका करण केसीले आक्रामक ब्याटिङ गर्दै ११ बलमा १७ रन बनाएका थिए।

बलिङतर्फ यूएईका जुनैद सिद्दकीले सर्वाधिक ३ विकेट लिँदा रोहन मुस्तफा र आर्यन लार्काले समान २ विकेट लिए। त्यस्तै कार्तिक मेइयाप्पनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको यूएईका कप्तानसमेत रहेका ओपनर मोहम्मद वसीस शुन्य रनमै आउट हुँदा नेपालले पहिलो ओभरमै सफलता हात पारेको थियो। तर, दोस्रो विकेटका लागि भने नेपालले संघर्ष गर्नुपर्‍यो। दोस्रो विकेटका रुपमा आर्यन लार्काले आशिफ खानसँग ९४ रनको साझेदारी गर्दै अर्धशतक बनाएर आउट भए। त्यस्तै बृत्य अरबिन्दले १३, सीपी रिजवान र जहुर खानले ७, रोहन मुस्तफा र एलिसन सरिफुले ६,आयन खानले २ तथा कार्तिक मेइयाप्पनले शुन्य रन बनाए। यूएईको पारि उकासेका आशिफ खानले ८२ रन बनाएकोमा दीपेन्द्रसिंह ऐरीले विकेट लिँदै ब्रेकथ्रु दिलाए। लगत्तै अर्को बलमा ८ औं विकेटका रुपमा कार्तिकलाई ऐरीले आउट गराएपछि यूएई दवाबमा आएको थियो।

बलिङतर्फ सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिँदा करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले समान १ विकेट लिए।

नेपाल पाँचौँ स्थानमा

जितसँगै नेपाल क्रिकेट विश्वकप लिग २ को पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले ३२ खेलबाट ३२ अंक जोड्दा समान खेलबाट ३१ अंक जोडेको यूएई पछि पर्दै छैटौँ स्थानमा छ। तालिकाको पुछारमा ७ अंक जोडेको पीएनजी छ।

शीर्ष दुईमा ५० र ४४ अंक जोडेका स्कटल्याण्ड र ओमन छन्। तेस्रो स्थानमा ३९ अंक जोडेको नामिबिया रहँदा चौथो स्थानमा ३५ अंक जोडेको अमेरिका छ। जितसँगै नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राखेको छ। नेपालले अब चारवटा खेल घरेलु मैदानमा यूएई र पीएनजीसँग खेल्न बाँकी छ। जसमध्ये सबै खेलमा जित निकाल्न सके नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell