PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

झारफुकको बहानामा निर्घात कुटपिट: १४ वर्षीय बालिकाको मृत्यु, माता पक्राउ



रमेश पराजुली

झारफुकको बहानामा निर्घात कुटपिट: १४ वर्षीय बालिकाको मृत्यु, माता पक्राउ

बुटवलः रुपन्देहीमा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीय बालिकाको मृत्यु भएको छ। सैनामैना नगरपालिका १० की २२ वर्षीय माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सोही ठाउँकी १४ वर्षीय सीता ज्ञवालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुईँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो। माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुईँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेको भिडिओमा देखिन्छ।  

यस्तै कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडिओमा देखिएको छ। उक्त भिडिओका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो।

सोही प्रमाणका आधारमा मातालाई पक्राउ गरिएको डिएसपी अर्यालले बताए। उनको घरबाट प्रहरीले बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका विभिन्न सामाग्रीहरू त्रिशूल, जग, रुद्राक्षको मालालगायत बरामद गरेको छ। मृतक सीता ज्ञवालीका परिवारले विगत ४/५ दिनदेखि सीता कानसम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगेर चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनियाकोमा पुर्‍याएका थिए।

सोनियाको कुटपिटबाट सीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

शव आइतबार राति नै परिवारले कपिलवस्तु जिल्लाको लक्ष्मणघाटमा लगेर जलाएको खुलेको छ। दाहसंस्कारका लागि जाँदा र फर्किंदाको पूर्वपश्चिम राजमार्गमा रहेका सिसिटिभी फुटेज प्रहरीले सङ्कलन गरेको छ। फुटेजका आधारमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनाको दिन बिहान सीतालाई उपचारको लागि अटो रिक्सामा राखी सालझण्डी बजारमा रहेको स्थानीय मेडिकल लिएर आएको र उपचार पश्चात् फिर्ता गएको पनि पनि फुटेजमा देखिएको छ। माता भन्ने सोनियालाई अदालतबाट ७ दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell