PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हजारदेखि करोडसम्मका बाउन्स चेक बोकेर प्रहरीकहाँ पुग्छन् पीडित, प्रहरीले खटायो छुट्टै युनिट



सविन ढकाल

हजारदेखि करोडसम्मका बाउन्स चेक बोकेर प्रहरीकहाँ पुग्छन् पीडित, प्रहरीले खटायो छुट्टै युनिट

काठमाडौं : व्यवसायी दुर्गा प्रसाईँले अहिले बैंक तथा वित्तीय क्षेत्रलाई लक्षित गरेर दिएको अभिव्यक्ति चर्चामा छ। त्यसले वित्तीय तथा बैंकिङ क्षेत्रका मानिसमा त्रास र भयको अवस्था समेत सिर्जना गरिदिएको छ।

प्रसाईँलाई कानुनी कारबाही गर्ने वा नगर्ने अर्को प्रश्न छदैंछ। प्रसाईँको उक्साहटमा घटना घट्दै गए त्यसलाई रोक्ने गृह प्रशासनलाई अर्को चुनौती थपिएको छ।

तर, यसैबिचमा देशभर बैंकिङ कसूरका अपराध बढेर गएका छन्। प्रहरीको तथ्याङ्कमा पछिल्लो समय सबैभन्दा धेरै बढेर गएको अपराध नै बैंकिङ कसूरका अपराध हुन्।

त्यसो त व्यवसायी प्रसाईँले भने जस्तै बैंक तथा वित्तीय क्षेत्रको ऋण नतिर्ने हो भने कानुनतः रुपमा बैंकिङ कसूर मानिन्छ। त्यस्तै, कालो मोसो दल्दै हिँड्ने हो भने अर्को कानुन आकर्षित हुन्छ। उनले भनेको जस्तो पाँच दिन हिरासतमा राखेर छोड्ने अवस्था भने पक्कै बन्दैन।

प्रहरीमा सबै भन्दा धेरै चेक बाउन्सका उजुरीहरू पर्ने गरेका छन्। जसमा ठूला व्यवसायीदेखि सानासम्म समातिने गरेका छन्। २० हजारको चेक बाउन्सदेखि करौडौंको चेक बाउन्सका घटना पनि प्रहरीकहाँ पुग्ने गरेका छन्।

पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्यूटावरका ठेकेदार मनोज भेटवाल एक सातादेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनलाई चेक बाउन्सको आरोप लागेको छ। ३ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएपछि उनलाई नियन्त्रणमा लिएको परिसरले जानकारी दिएको छ।

परिसरमा चेक बाउन्समा पुग्ने ठूलो रकममध्येको अर्को एक घटना पनि छ। एक युवकले काठमाडौं महानगरपालिका वडा नम्बर ३४ को कित्ता नम्बर ३६२, ५१ र ४५ मा बनेको घर कम्पाउन समेत धितोमा राखेर चार करोड २० लाख रुपैयाँ ऋण दिएका थिए साथीलाई।

कलेज पढ्दाका साथीले सञ्चालन गर्दै आएको हिमालयन डेकोर्स प्रालिलाई ऋण कर्जा चाहिएर उनीहरूले घर धितो राख्न दिएका थिए। तीन वर्षमा सबै कर्जा चुक्ता गर्ने बाचा पनि गरेका थिए।

तर, तोकिएको मितिसम्म घर जग्गा ऋण तिरेर फुकुवाको प्रक्रिया नै अगाडि बढेन। पछि ती साथीले उनीहरूलाई मेघा बैङ्कको ४ करोड २० लाख रुपैयाँको चेक दिए। तर, चेक साटिएन किनकि खातामा पुग्ने रकम थिएन।

पछि चेक अनादर भएको घटनामा उनीहरु प्रहरीकहाँ पुगे। बैंकिङ कसूर अपराध भएको हुँदा पीडित पक्ष प्रहरीकहाँ पुगेको थियो।

+++

त्यस्तै, केही वर्षअगाडि परिसरमा ४ करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै उजुरी परेको थियो। जहाँ चिने जानेका व्यक्तिलाई जुत्ता सम्बन्धी व्यवसाय गर्ने भन्दै ऋण दिएका थिए।

४ करोड रुपैयाँ ऋण दिएपछि लिने व्यक्तिले विश्वासको लागि आफ्नो नामको चेक काटेर दिएका थिए। २०७६ चैत १० गतेको मिति राखी एनआईसी एसिया बैंकको बत्तिस पुतली शाखाको चेक दिएका थिए।

ऋण लिने व्यक्तिले आफ्नो खातामा पैसा आएपछि खबर गर्ने र निकाल्न भनेका थिए। तर, भाका भएको चार महिनासम्म ऋण दिने व्यक्तिलाई कुनै फोन सम्पर्क आएन। त्यसपछि उनले त्यो रकम आफ्नो ग्लोबल आइएमई बैंकको पानीपोखरी शाखाका क्लियरिङको लागि जम्मा गरेका थिए। तर, खातामा पर्याप्त मौज्दात नभएको भन्दै बैंकले चेक फिर्ता दियो।

ऋण दिने व्यक्तिलाई सो घटनाको जानकारी दिएका थिए। तर, उनले कुनै वास्ता नगरेपछि आफू ठगिएको भन्दै उनी प्रहरी कहाँ पुगेका थिए।

+++

एक व्यक्तिले सिमेन्ट उद्योगको नाममा १ करोड रुपैयाँको चेक दिन्छन्। चेक लिएर उनी एनआईसी एसिया बैंकको टेकुमा रहेको शाखामा पुग्छन्।

तर, उनको चेकमा मौज्दात नभएको भन्दै सटही हुँदैन। त्यसपछि उनी पनि अघिल्ला व्यक्ति झैँ प्रहरी कहाँ पुग्न बाध्य हुन्छन्।

आफ्नो बैंक खातामा रकम नभएको जानीजानी चेक काटी दिएकोले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) को अनुसारको अपराध गरेको हुँदा निजलाई आवश्यक कारबाही गरी चेक बमोजिमको रकम एक करोड साँवा र सोको कानुन बमोजिम ब्याज समेत दिलाई भराई पाउँ भन्ने ब्यहोरासहित निवेदन पेस गर्छन्।

बैंकिङ कसूरमा मुद्दा बढेर गएको प्रहरीको तथ्याङ्कले देखाउँछ। चालु आर्थिक वर्षको पाँच महिनामा देशभर ३ हजार ८ सय ५० वटा बैंकिङ कसूरमा मुद्दा दायर भएका छन्। जसमा २ सय ३९ जना मानिस समात्न प्रहरी सफल भएको छ।

अघिल्लो आर्थिक वर्षमा देशभर ५ हजार ३ सय ८३ वटा बैंकिङ कसूरका मुद्दा दर्ता भएकामा १५ जना विदेशीसहित ४ सय ३६ जना मानिस समातिएका थिए।

‘चेक बाउन्सका उजुरी धेरै आउने गरेका छन्। जसको लागि छुट्टै युनिट खटाएका छौं,’ काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell