PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

चितवनका कुकुरमा देखियो ‘पार्वो भाइरस’को सङ्क्रमण



रासस

चितवनका कुकुरमा देखियो ‘पार्वो भाइरस’को सङ्क्रमण
फाइल फोटो।

चितवन : चितवनमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो।

केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो।

घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिएपनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए। यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ।

पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए। सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ।

कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ। कुकुरलाई डीएचएलपीपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए।

अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले जानकारी दिए। कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वोविरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell