PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

एसियामा युक्रेन शैलीको संकट दोहोरिन नहुने चिनियाँ विदेशमन्त्रीको भनाइ, अमेरिका र युरोप लक्षित चेतावनीमा के के भने?



पहिलोपोस्ट

एसियामा युक्रेन शैलीको संकट दोहोरिन नहुने चिनियाँ विदेशमन्त्रीको भनाइ, अमेरिका र युरोप लक्षित चेतावनीमा के के भने?
तस्विर : चिनियाँ विदेश मन्त्रालय

चिनियाँ विदेश मन्त्री छिन काङले जापान र चीनले इतिहासबाट पाठ सिक्दै नयाँ युगमा राम्रो सम्बन्ध स्थापना गर्नुपर्ने बताएका छन्।

बेइजिङमा भएको १४ औं नेश्नल पिपल्स कंग्रेसको पहिलो सत्रको साइडलाइनमा भएको पत्रकार सम्मेलनका क्रममा काङले अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्दै दुवै देशले 'विन-विन कोअपरेशन'का लागि हातेमालो गर्नुपर्ने बताएका हुन्।

'इतिहास बिर्सनु धोका हो, र अपराध अस्वीकार नगर्नु अपराध दोहोर्‍याउनु हो,' उनले भनेका छन्।

पुरानै सम्बन्धहरु सुधार हुन बाँकी रहेको अवस्थामा चीनविरुद्ध नयाँ 'कोल्ड वार'मा संलग्न भएर जापानले द्विपक्षीय सम्बन्धमा थप दरार ल्याएको उनले आरोप लगाएका छन्। जापानले अमेरिकासँग सैन्य सहकार्य गरिरहेको छ। त्यसैलाई लक्षित गर्दै काङको अभिव्यक्ति आएको हो। 

'चीनले जापानसँग सधैँ सद्भाव, मित्रता र असल छिमेकीको आशा राखेको छ,' काङले भनेका छन्।

अहिलेको अन्तर्राष्ट्रिय व्यवस्था 'वर्ल्ड एन्टी फासिस्ट वार' को विजयी जगमा बनेको र सो युद्धमा साढे ३ करोड चिनियाँ सेना र नागरिकको जीवन र रगत बगेको काङले बताएका छन्।

'चिनियाँ जनताले युद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय न्यायलाई चुनौती दिने कुनै पनि ऐतिहासिक संशोधनवादलाई स्वीकार गर्ने छैनन्,' काङले चेतावनी दिँदै भनेका छन्।

अमेरिकी राजदूतका रुपमा कार्यभार सम्हालिसकेका विदेशमन्त्री काङले अमेरिकाले संचालन गरिरहेको युएस इन्डो प्यासेफिक स्ट्राटेजीलाई 'नाटोको एसिया प्यासेफिक संस्करण' भनेका छन्। अमेरिकाको इन्डो प्यसेफिक योजना चीनलाई घेर्न बनाइएको पुष्टि भइसकेको र त्यसले एशोसिएसन अफ साउथइस्ट एसियन नेशन्स केन्द्रीत खुला र समावेशी क्षेत्रीय सहयोगलाई प्रभावित पार्न सक्ने उनले चेतावनी दिएका छन्।

चीनले एसियाली राष्ट्रमा 'विन-विन कर्पोरेशन'को आवश्यक्तामा जोड दिएको छ। 'एसिया भूराजनीतिक प्रतिस्पर्धाको 'चेसबोर्ड'को सट्टा सबैले जित्ने सहयोगको मञ्च हुनुपर्छ। कुनै शीतयुद्ध पुन: सुरु गर्नु हुँदैन। एसियामा युक्रेन शैलीको संकट दोहोरिनु हुँदैन,' काङले भने।

उनले छिमेकी देशहूरु सुरक्षा र विकासका लागि एकसाथ अघि बढ्नुपर्ने र साझा भविष्यको  लागि सबै मिलेर नजिकको समुदाय निर्माण गर्नुपर्ने बताएका छन्। खाडी राष्ट्रमा भने चीन शान्ति र स्थायित्वका लागि सहजकर्ता बन्ने उनले बताएका छन्। साथै, विकास र समृद्धिको लागि सहयोगी साझेदार र एकताको माध्यमबाट शक्ति निर्माण गर्न चीन सहयोगी हुने पनि काङले बताएका छन्। चीनले खाडी राष्ट्रहरु उनीहरुको सम्बन्धका बारेमा आफै 'मास्टर' भएको भन्दै चीनले त्यहाँको ' सो कल्ड भ्याकुम' भर्ने काम नगर्ने बताएका छन् काङले।

उनले हाल चर्चामा रहेको 'उल्फ वारियर डिम्लोमेसी' लाई 'न्यारेटिभ ट्रयाप' (कथा जाल) भनेका छन्।  'उल्फ वारियर डिम्लोमेसी'बारे कुरा गर्नेहरुसँग चीन र उसको कूटनीतिबारे ज्ञान नै नभएको मानिस भएको उनले आरोप लगाएका छन्।

विदेशमन्त्रीमा छिङ काङको नियुक्तिसँगै 'उल्फ वारियर डिप्लोमेसी'  चर्चामा छ। कूटनीतिक वृत्तमा मौन रहने चीन विशेषगरी सि चिनफिङ प्रशासनमा खरो रुपमा जवाफ दिन थालेको छ। पश्चिमाहरु सि प्रशासन मातहत चिनियाँ कूटनीतिज्ञहरुले 'दबाबपूर्ण कूटनीति' अंगालेको बताउँदै आएका छन्।

सन् २०२० को डिसेम्वरमा बेइजिङस्थित पश्चिमा मुलुकका कूटनीतिज्ञहरुले 'से नोट टु चाइनाज उल्फ वारियर डिप्लोमेसी' भन्न थालेका थिए। युरोपीयन युनियनकी राजदूत कोकोलास चापुइसले अमेरिकीसहित पश्चिमा देशका राजदूतहरुलाई चीनको उल्फ वारियर डिप्लोमेसीलाई 'नो' भन्नुपर्ने भन्दै आह्वान गरेकी थिइन्। पश्चिमा सामाजिक सञ्जाल प्रयोग नगर्ने, बाहिर खासै अन्तर्वार्ता तथा विचार नदिने चिनियाँ कूटनीतिज्ञहरु एकाएक सि प्रशासनसँगै बाहिर सुनिन थाले। यसैलाई पश्चिमाहरु 'उल्फ वारियर' डिप्लोमेसीको संज्ञा दिन थालेका हुन्।

काङले त्यसैलाई लक्षित गर्दै अभिव्यक्ति दिएका हुन्।

'चीनको कूटनीतिमा सद्भाव र मायाको कमी छैन। तर यदि स्याल वा ब्वाँसाको सामना गर्नुपर्‍यो भने, चिनियाँ कूटनीतिज्ञहरुसँग तिनीहरूको सामना गर्न र आफ्नो मातृभूमिको रक्षा गर्न खडा हुनुको विकल्प छैन,' काङले भनेका छन्। स्याल र ब्वाँसा भने उनले अमेरिका र युरोपियन राष्ट्रहरुप्रति इंगित गर्न खोजेका हुन्।

काङले चीन र युरोपको सम्बन्ध कुनै तेस्रो पक्षको लागि लक्षित नभएको र तेस्रो पक्षबाट ती सम्बन्ध नियन्त्रित नभएको पनि प्रष्टाएका छन्।

'हामी आशावादी छौं युक्रेनको पीडादायी संकटलाई बुझेर युरोपले रणनीतिक स्वायत्तता र दीर्घकालीन शान्ति र स्थिरताको आवश्यकतालाई महसुस गर्नेछ,' काङले भनेका छन्।

चीन विश्व मञ्चको केन्द्रको नजिक पुग्दै गरेको उनले बताएका छन्। विश्व मञ्चमा आफ्नो आवाज ठूलो र स्पष्ट रुपमा राख्नका लागि चिनियाँ युवाहरुको भूमिका महत्वपूर्ण रहेको समेत उनले बताएका छन्।

'तपाईँहरुले आफ्नो आँखाबाट संसारलाई हेर्नु पर्छ र विश्वलाई चीनको बारेमा आफ्नै शब्दमा बताउनुपर्छ,' चिनियाँ युवाहरुलाई लक्षित गर्दै काङले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell