काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा उषा भण्डारीले 'पिपल्स च्वाइस अवार्ड' जितेकी छिन्।
आज आयोजित कार्यक्रममा भण्डारीलाई यो वर्षको 'पिपल्स च्वाइस अवार्ड' दिइएको छ। भण्डारी राष्ट्रिय भलिबल फुटबल खेलाडी हुन्।
यो वर्ष पिपल्स च्वाइस अवार्डका लागि आशिफ शेख, दुवाना लामा अञ्जन विष्ट र अभिलाषा विष्ट पनि मनोनयनमा परेका थिए।
यस्तै, रघुराज वन्तलाई यस वर्षको 'लाइफटाइम अचिभमेन्ट' अवार्ड प्रदान गरिएको छ। नेपाली खेलकुद क्षेत्रलाई पुर्याएको योगदानलाई कदर गर्दै वन्तलाई यो सम्मान दिइएको हो।
कसले जित्यो कुन अवार्ड?
यो वर्ष मनिस डांगीले उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन्। आज आयोजित कार्यक्रममा डांगी यो वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका हुन्।
यस्तै, पलेसा गोवर्द्धनाले उत्कृष्ट पारा एथ्लेटको उपाधी जितेकी छिन्। पलेसा पारा तेक्वान्डो खेलाडी हुन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई २०७८ सालको उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरिएको छ।
भोजपुरका दान बहादुर तामाङ र माया देवी मोक्तान दुवैजनालाई 'स्पेशन अवार्ड' दिइएको छ।
खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई मञ्चले हरेक वर्ष सम्मानित गर्दै आएको छ।