PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालमा बसेर सुन तस्करीको नेटवर्क जोड्ने इब्राहिम, छोटो समयमै तीन सयपटक विभिन्न देशमा गरे ओहोरदोहोर



सविन ढकाल

नेपालमा बसेर सुन तस्करीको नेटवर्क जोड्ने इब्राहिम, छोटो समयमै तीन सयपटक विभिन्न देशमा गरे ओहोरदोहोर

काठमाडौंः गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयले समातेको १९ किलो सुन प्रकरणको मुद्धा अहिले जिल्ला अदालतमा चलिरहेको छ। पक्राउ परेका दुई सुडानी युवकमाथि प्रहरीले अनुसन्धान गर्दा यसको नेटवर्क भारतसम्म जोडिएको खुलेको छ।

उक्त घटनाको दुई महिनापछि भारतमा पनि ७ सुडानी र तीन भारतीय पक्राउ परेका छन्। भारतको राजस्व अनुसन्धान निर्देशनालयको टोलीले भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद गरेको छ। भारतको दाबी अनुसार सुन दुबईबाट नेपाल भित्रिएर सीमा नाका हुँदै भारतसम्म पुग्ने गरेको देखिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले पनि भारतको दाबीलाई प्रमाणित गर्ने तथ्यहरू देखाएको छ।

पुस ८ गते दुबईबाट सुन बोकेर ल्याएका मोहम्मद अहमद डाफल्ला सराफललाई पक्राउ गरेको थियो। उनी १५ दिनको पर्यटक भिसामा नेपाल आएका थिए। उनी फ्लाइ दुबई (फ्लाइट नम्बर एफ जेड ५३५) हुँदै त्रिभुवन विमानस्थल आएका थिए। उनले बयानमा सुन सुडान ओमड्रुममैन स्थित अलशदाह मार्केटमा बस्ने सुडानी नागरिक इब्राहिम अब्दुल नासिरले साढे ३ लाख रुपैयाँ दिने सर्तमा पठाएको बताएका थिए। डाफल्लालाई दुबईमा निधारमा रातो टिका लगाएका जोनीले १९ किलो सुन दिएर नेपाल पठाएको डाफल्लाले प्रहरीमा बयान दिएका छन्।

त्यसपछि सुन रिसिभ गर्न आएका अहमद मोहम्मद इब्राहिम मोहम्मदलाई पक्राउ गरेको थियो। प्रहरीको अनुसन्धानमा मोहम्मद नेपालमा बसेर भारतसम्म सुन पठाउने गरेको देखिएको छ। दुबईबाट सुन बोकेर आएका नागरिकलाई उनले नै विमानस्थलमा गएर रिसिभ गर्ने र लगत्तै आन्तरिक उडानबाट विराटनगर हुँदै भारतीय सीमामा पुगेर सुन दिने गरेको अनुसन्धानमा खुलेको छ। उनी पहिलोपटक सन् २०२२ नोभेम्बर ३ मा पर्यटक भिसामा नेपाल आएका थिए। नोभेम्बर ६ मा फेरि उनी स्वदेश फर्किए। दोस्रोपटक उनी फेरि सन् २०२२ नोभेम्बर २१ नेपाल आए। पर्यटक भिसामा नेपाल आए पनि उनको मनसाय भने सुन तस्करी नै थियो।

मोहम्मद पुस ८ गते विमानस्थलको अनुमति बिना प्रवेश निषेधित क्षेत्रमा पास बिना नै छिरेको प्रहरीले जानकारी दिएको छ। दुबईबाट सुन बोकेर आएका डाफल्ला सराफललाई नदेपछि उनी विमानस्थलभित्र छिरेका थिए। ह्वाट्सएपमा मो. अल्बाही र उनीबीच पटकपटक कुराकानी भएको देखिएको छ। उनले अन्तिम पटक विमानस्थलबाट उताबाट पठाएको मानिस नआएको भन्दै दुई जनाबीच कुराकानी भएको देखिन्छ।

“मान्छेहरू निस्किसके तपाईँले भनेको मान्छे त अहिलेसम्म पनि निस्केको छै न त? म माथि जाऊ त? उसले कस्तो कपडा लगाएको छ? ग्रीन कलरको क्याप पहेँलो कलरको ज्याकेट लगाएको छ। त्यहाँ पुगेको हो तिमी? म अगाडि आसके। ममाथि गएको त्यो मान्छे त देखिन त। किन तिमीसँग त्यो मान्छेको फोटो छैन र? हिजो पठाएको फोटो मात्र छ मसँग त । म एयरपोर्टको लास्ट पोइन्टमा आसके मान्छे देख्दिनँ त? तिमी जुन ठाउँमा छौ मलाई त्यहाँको फोटो पठाऊ त? फोटो पठाउँछ (भ्वाइस म्यासेज गर्छ) नेट खुलेको छैन के भएको छ हो। पुलिसलाई सोध त के भएको हो? अहिलेलाई छोड्दिनुस् नसोधौँ। एयर अरेबियाको अरू सबै मान्छे आइसके ऊ भित्र इमिग्रेसनमा हुनुपर्छ। त्यसो भए आधा घण्टा पर्ख किनकि त्यसले अङ्ग्रेजी भाषा जान्दैन। त्यसो भए म भित्र जान कोसिस गर्छु। (भित्र गएको फोटो पठाउँछ र म भित्र छु भन्छ) भ्वाइस म्यासेज गर्छ (अब त म प्लेन भित्र पुग्न मात्र बाँकी छ)।' भन्दै कुराकानी भएको देखिएको थियो।

उनले खोजीरहेको मानिस यतिखेर भन्सार कार्यालयको नियन्त्रणमा भइसकेको थियो। तर यसपटक भने उनले दुबईबाट आएको सुन रिसिभ गर्न र विराटनगर हुँदै भारत लैजान भने सफल भएनन्। पक्राउ पर्नुभन्दा अगाडि उनले विदेशबाट आएका सुडानी नागरिकलाई सुनसहित १८ पटक विमानबाट सुन लिएर गएको देखिएको छ। त्यस्तै छोटो समयमा नै उनले भारत, इजिप्ट, नेपाल र युएईलगायतका देशमा ३ सय पटकभन्दा बढी आगमन र प्रस्थान गरेको उनको राहदानीबाट खुल्न आएको छ।

सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मदले सुडानी नागरिकहरू मोहम्मद अहमद डफल्ला शराफेल्डिन, रावा सिद्दीग अहमद मोहम्मद, अशरफ गदल्ला अहमद शारफेल्डिन, अवातेफ अब्दलगफर अलि माला, इब्राहिम अब्दुल नासिर, मोहम्मद अल्बाही, भारतीय बावन बैग, जोनी नाम गरेका एक व्यक्तिसँग मिलेर सङ्गठित रूपमा सुन तस्करी गरेको देखिएको छ।

अहमद इब्राहिमले बोक्ने नेपाली मोबाइल नम्बर (97624……..) बाट नेपालका केही ल्यान्डलाइन नम्बरमा, भारत, युएई र सुडानमा सम्पर्क गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell