PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कुण्डकुण्ड माओवादी मुण्डमुण्ड स्वार्थ, तितरबितर शक्ति एक भए प्रचण्डलाई होला राहत?



प्रकाश भण्डारी

कुण्डकुण्ड माओवादी मुण्डमुण्ड स्वार्थ, तितरबितर शक्ति एक भए प्रचण्डलाई होला राहत?

काठमाडौंः माओवादी पृष्ठभूमिका नेतालाई बेलाबेलामा आपत् आइलाग्छ, कहिले टुटफुटले त कहिले आफ्नै बिगतले। तर यस पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै बोली कारण बन्यो, मा‌ओवादी तरंगित हुने।

२०७६ को माघीमा प्रचण्डले टुँडिखेलमा भाषण गरेका थिए -द्वन्द्वमा मारिएकामध्ये ५ हजारको जिम्मा लिन्छु। ‘५ हजारको जिम्मा लिने’ लाइन समातेर द्वन्द्वको विषय अदालत पुग्यो, जसले माओवादी पृष्ठभूमिका दलमा भूकम्प नै आएको छ।

मोर्चाबन्दीका लागि प्रधानमन्त्री निवास बालुवाटारबाट विज्ञप्ति निकाल्नेदेखि एकै मञ्चबाट विरोधीलाई चेतावनी दिन भ्याए माओवादी नेताले, प्रचण्डको पक्षमा उभिएर। फागुन १९ मा प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको थियो। २ दिनपछि फागुन २१ मा माओवादी केन्द्र र ८ दलीय गठबन्धनले विज्ञप्ति जारी गरे, सङ्क्रमणकालीन न्यायको विषय भएको दाबी गरेर।

शान्ति सम्झौता विपरीत भए प्रतिवाद गर्ने निर्णय फागुन २३ गते माओवादी पृष्ठभूमिका ८ दलले गरे। आपतमा एक ठाउँ भएको सन्देश दिने माओवादी नेताको विभाजन भने मूल नेतृत्वको रूपमा रहेको माओवादी केन्द्रबाट मात्रै भएको छैन, नयाँ बनेका पार्टीमा पनि पहिरो गएर नेतैपिच्छे पार्टी बनेका छन्।

कति छन् माओवादी?

माओवादीमा पहिरो जाने घटना नयाँ होइन। २०५२ देखि २०६२ सम्म सशस्त्र युद्ध गरेर आएको माओवादीमा युद्धकै बेलामा पनि हलचल आइनै रह्यो। तर संसदीय राजनीतिमा आएपछि भने आफैंभित्र खिचातानीमा लागे माओवादी नेता। दोस्रो संविधान सभाबाट संविधान नबनेपछि संविधान सभा विघटन भयो।

तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष रहेका मोहन वैद्य नेतृत्वमा रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव, देव गुरुङलगायतका नेताले प्रचण्ड संसदीय राजनीतिमा भासिएको आरोप लगाएर २०६९ साल असार ४ मा नेकपा -माओवादी गठन गरे। पार्टी अलग भए पनि वैद्य नेतृत्वमा रहेका नेताहरूले पछि वैद्यमाथि नै प्रश्न उठाएर फुटको औचित्य पुष्टि गर्न नसकेको भन्दै प्रचण्डसँगै हिमचिम बढाए। उनीहरूको स्वार्थ प्रचण्डसँग मिलेपछि थापा, गुरुङ, पम्फा भुसाललगायतका नेता पुरानै पार्टीमा फर्किए पनि वैद्य सिपी गजुरेल लगायतका नेता फर्किएनन्। वैद्य नेतृत्वमा रहेका विद्रोही स्वभावका विप्लव पनि वैद्य नेतृत्वको माओवादीमा रहन सकेनन्। २०७१ मङ्सिरमा विप्लवले नेपाल कम्युनिस्ट पार्टी गठन गरे।

माओवादीबाट अलग हुनेहरू कम्युनिस्ट पार्टी खोल्ने मात्रै छैनन् माओवादी धार नै त्याग्ने नेता पनि छन्। २०७२ मा संविधान जारी भएपछि तत्कालीन माओवादीका नेता बाबुराम भट्टराईले माओवादी केन्द्रलाई चर्किएको घरको संज्ञा दिएर नयाँ शक्ति गठन गरे। बाबुराम नेतृत्वको नयाँ शक्ति पनि लामो समय टिक्न भने सकेन। देवेन्द्र पौडेल नेतृत्वमा केही नेता माओवादीमै फर्किए। बाबुरामले नै पनि नयाँ शक्तिलाई अघि बढाउन सकेनन्। २०७४ को चुनावमा नराम्रोसँग पराजय भोगेपछि बाबुरामले उपेन्द्र यादव नेतृत्वमा रहेको तत्कालीन संघीय समाजवादी फोरमसँग एकतापछि समाजवादी पार्टी गठन भएको थियो। उक्त पार्टीपछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल (जसपा) बन्यो। जसपामा पनि विभाजन आएर लोसपमा बन्यो भने उपेन्द्रसँग असन्तुष्ट भएर बाबुरामले नेपाल समाजवादी पार्टी ( नेसपा) बनाएका छन्।

माओवादी नेतापिच्छे नै पार्टी खुल्ने क्रम विप्लव नेतृत्वको माओवादीमा पनि रोकिएन। २०७९ को स्थानीय तह निर्वाचनका विषयमा विप्लव नेतृत्वको माओवादीमा पनि चिरा पर्‍यो। विप्लवको आलोचना गरेर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा बहुमत गठन भएको छ।

कोही निष्क्रिय कोही छैनन् राजनीतिको सिनमा

प्रचण्ड नेतृत्वबाट फुटेर जाने माओवादी सबै नेताका पार्टी अस्तित्वमा भने छैनन्। २०७४ मा गोपाल किराती, लोकेन्द्र विष्ट मगर, विश्वभक्त दुलाललाई माओवादी केन्द्रले कारबाही गरेको थियो। विष्ट राजनीतिबाटै अलग भएर कृषिमा सक्रिय छन् भने दुलालको नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छ। किराती भने राष्ट्रिय राजनीतिको सिनमा त्यति छैनन्। किरातीले प्रचण्डविरुद्ध अदालतमा पुगेको द्वन्द्वकालीन मुद्दामा एकता जनाएका छैनन्। किरातीको नेतृत्वको माओवादीमा रहेका कर्णजित बुढाथोकीले किरातीलाई छोडेर माओवादी समाजवादी गठन गरेका थिए। बुढाथोकीले भने प्रचण्डलाई साथ दिएका छन्।

अरुबेलामा प्रचण्डको चर्को आलोचना गरेर नयाँ नयाँ पार्टी खोलिरहेका माओवादी नेताले युद्धकालका मुद्दा उठ्ने बित्तिकै भने एक स्वरमा विरोध गर्ने गरेका छन्।

प्रचण्ड नेतृत्वको माओवादीमा विभाजन कहाँसम्म आयो भने तत्कालीन नेकपाको विवादका बेलामा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेता एमालेमै सक्रिय भए। सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी एकता बदर गरेको थियो। एमालेको उपाध्यक्ष रहेका बादल राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएयता राष्ट्रिय राजनीतिमा गुमनाम छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री रहेका माओवादी नेताहरूले मन्त्री पद कायम राखिराख्न एमाले त्यागेनन्। माओवादीबाट एमालेमा लागेका नेतामा पनि विभाजन भने आइसकेको छ। चुनावको मुखमा प्रभु साहले एमाले त्यागेर आम जनता पार्टी खोले। माओवादीका नेता रहेका साहले स्वतन्त्र उम्मेदवारी जितेर अहिले सांसद छन्।

बालुवाटारमा उभिएका ८ भाई माओवादी

फागुन २१ गते नै माओवादी धारका ६ नेताले प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रचण्डलाई समर्थन गरेका थिए। उनीहरूले द्वन्द्वको मुद्दा उठाए फेरि एकता गरेर तह लगाउने चेतावनी नै दिएका थिए। दुई दिनपछि फेरि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका ८ दलले विज्ञप्ति जारी गरेरै चेतावनी दिए। युद्धका बेलाका घटनामा एक ठाउँमा रहेको सन्देश दिन प्रचण्ड, बाबुराम, नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, नेकपा (बहुमत) का संयोजक धमेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल 'आहुति', नेकपा (माओवादी समाजवादी) अध्यक्ष कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमालले विज्ञप्ति जारी गरेका छन्। ‘शान्ति प्रक्रियासँग जोडिएका विषय विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरूप व्यवस्थापन गरिनुपर्दछ भन्ने कुरामा हामी दृढ छौँ,’ ८ भाइ माओवादीको विज्ञप्तिमा भनिएको छ।

मिल्ला प्रचण्डलाई राहत?

अप्ठेरोमा परेका बेलामा प्रचण्डले माओवादी घटकलाई एकै ठाउँमा उभ्याउने प्रयास गर्नु नौलो होइन। यसअघि तत्कालीन कांग्रेस नेतृत्वमा रहेको गठबन्धन भित्र पनि उनीहरूले समाजवा दी केन्द्र बनाउन छलफल गरेका थिए। जसको अग्रसरता लिएका थिए नेसपाका अध्यक्ष भट्टराईले भट्टराईले अहिले पनि माओवादीको फुर्को छोडेर नयाँ पार्टी गठन गर्नुपर्ने बताइरहेका छन्। फागुन २१ गते प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पनि प्रचण्डलाई मुद्दा हालेर निहुँ खोजेको अभिव्यक्ति दिएका थिए। बाबुरामलगायतका नेतालाई पार्टीमा फर्काउन माओवादीले पनि पार्टीको नाम र चुनाव चिह्न बदल्ने निर्णय गरेको छ। तर माओवादी समाजवादीका अध्यक्ष बुढाथोकीले भने तत्काल पार्टी एकता नहुने बताए। उनले युद्धकालीन मुद्धाबारे कार्यगत एकता भएको बताए। चाँडै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको उनको भनाइ छ। उक्त संघर्षपछि माओवादी पार्टीहरुका बीचमा कार्यगत मोर्चा बन्ने नबन्ने बारेमा निर्णय हुने बताए। ‘अब चाँडै हामी संघर्षका कार्यक्रम घोषणा गर्छौं। संघर्षकै बीचबाट थाहा हुन्छ हाम्रो कार्यगत एकता मात्रै हुन्छ कि या अरू केही अरू हुन्छ भन्ने। अहिले नै टुंगो छैन,’ बुढाथोकीले भने।

राजनीतिक फाइदाका लागि पार्टी एकता र सहकार्य गरिहाल्ने प्रचण्डले प्रधानमन्त्रीकै लागि ओलीसँग सहकार्य गरेका थिए जुन सहकार्य अहिले टुटिसकेको छ। प्रचण्डले माओवादी धारका पार्टीलाई मात्रै होइन आफूलाई बलियो देखाउन एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समेत आफ्नो कित्तामा उभ्याउने गरेका छन्। त्यसैले प्रचण्डले फागुन २१ गतेको प्रतिष्ठानको कार्यक्रममा पनि माओवादी मिले कसैले आफ्ना विरुद्धका गतिविधि गर्न नसक्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell