PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

इन्द्रावती अध्यक्ष कपमा कहीं नभएको जात्रा : फाइनल नखेलाइ उपाधि, उजुरी हाल्नेलाई उल्टै कारवाही



पहिलोपोस्ट

इन्द्रावती अध्यक्ष कपमा कहीं नभएको जात्रा : फाइनल नखेलाइ उपाधि, उजुरी हाल्नेलाई उल्टै कारवाही

  • फूलमान तामाङ-

नवलपुर : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका कपको उपाधि फाइनल खेलै नखेली वडा नम्बर १२ ले उचालेको छ। फाइनल नखेली कप उचालेको वडा १२ लाई गाउँपालिकाका अध्यक्ष झम्क नेपालले उपाधिसँगै नगद एक लाख पुरस्कार प्रदान गरे।

तेस्रो संस्करणको खेलमा विवाद चर्किएपछि अनौठो मोडमा पुगेको खेलसँगै दोस्रो पुरस्कार लिने टिमसमेत भेटेन आयोजकले। योसँगै दोस्रो उपाधि आयोजक इन्द्रावती गाउँपालिकाले नै राखेको छ। यसैगरी सेमिफाइनलमा पराजित वडा ४ ले तेस्रो उपाधि हात पारेको छ। तेस्रो भएको वडा ४ ले ४० हजार पनि पाएको छ।

उजुरी हाल्नेलाई कारबाही

तालिकाअनुसार मंगलवार फाइनल थियो। वडा १२ वडा ४ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो। अर्को सेमिफाइनल खेलमा वडा १० लाई हराउँदै वडा ९ फाइनल प्रवेश गरेको थियो। फाइनल खेल वडा नम्बर ९ र १२ बिच हुनपर्ने। तर वडा ९ र १० बिचको सेमिफाइनल खेल विवादमा तानियो।

वडा ९ ले लिस्टमै नभएको खेलाडी हालेर खेल खेलाएको भन्दै छानबिनका लागि गाउँपालिकामा उजुरी दिएको थियो। सोमवार भएको सेमिफाइनलको दोस्रो खेलमा निर्धारित समयमा दुबै टिमले कुनै गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो। पेनाल्टी सुटाउटमा ९ ले १० लाई हरायो। लगत्तै छानविनका लागि वडा १० ले उजुरी दियो। यता आयोजकले भने दुबै टिमलाई कारबाहीस्वरुप प्रतियोगिताको बाँकी खेलमा प्रतिबन्ध लगाउने निर्णय गर्‍यो। अनि वडा नम्बर १२ फाइनल खेल्नै परेन। गाउँपालिका अध्यक्षले सिधै उपाधि हस्तान्तरण गरे।

वडा १२ ले सेमिफाइनल खेलमा वडा ४ लाई २-० गोलको अन्तरले फाइनल जान रोकेको थियो। फाइनल खेल नै भएपछी दोस्रो पुरस्कार भने गाउँपालिका आफैसँग रहने निर्णय भएसँगै वडा ४ ले सिधै तेस्रो स्थान पाएको हो।

मञ्चमा ढुंगा प्रहार

खेल विवादमा तानिएपछि समयमै निर्णय नहुँदा समापन कार्यक्रम नै तनावग्रस्त बन्न पुग्यो। असन्तुष्ट पक्षले समापनका लागि बनेको मञ्चमै ढुंगा प्रहार गरे। जसले गर्दा गाउँपालिकाका जनप्रतिनिधि र कर्माचारीबिच हुने भनिएको मैत्रीपूर्ण खेल पनि हुन सकेन। प्रतियोगितामा विभिन्न विधाका अवार्ड तयारी थियो तर विवादले कुनै खेलाडीलाई अवार्ड दिइएन। फागुन २१ देखि २३ सम्म तोकिएको प्रतियोगितामा गाउँपालिकाभरका १२ वडाको सहभागिता रहेको थियो। प्रतियोगिता इन्द्रावती वडा ८ स्थित सिपापोखरेको सहिद स्मृति रंगशालामा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell