PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न तम्तयार छन् महिला : जवानदेखि एआईजीसम्म यस्तो छ महिला सहभागिता



पहिलोपोस्ट

प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न तम्तयार छन् महिला : जवानदेखि एआईजीसम्म यस्तो छ महिला सहभागिता

काठमाडौं : अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४ सय रहेको छ। जसमा महिला प्रहरीको सङ्ख्या ८ हजार ९ सय ६९ छ। ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठनमा भने मुस्किलले ११ प्रतिशत मात्र छ।

तर, पनि अझै प्रहरी संगठनको उच्च दर्जामा भने महिला प्रहरीको सङ्ख्या न्यून नै रहेको छ। ६ दशक लामो इतिहासमा अहिलेसम्म महिला प्रहरी प्रहरी महानिरीक्षकको भूमिकामा पुग्न सकेका छैनन्।

तर, अहिले पहिलो पटक महिला प्रहरी प्राविधिक बाहेक अतिरिक्त महानिरीक्षक (एआईजी) बन्न सफल भएकी छिन्। गत जेठमा डीआइजी पूजा सिंह एआइजीमा नियुक्त भएकी थिइन्।

प्राविधिक तर्फका विभागमा अहिले पनि महिलाको नेतृत्व देखिन्छ। नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन्, डाक्टर दुर्गा थापा।

सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीस वर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन्। अहिले एआईजी डाक्टर आशा सिंहले नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन्।

पछिल्लो समय संगठनमा महिला प्रहरीले जिल्ला, विभाग, व्यूरो, वृत लगायतको नेतृत्व गर्ने मौका पाएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय पनि अहिले महिला प्रहरीकै कमाण्डमा रहेको छ। डीआइजी मिरा चौधरीले अहिले ट्राफिक प्रहरीको नेतृत्व गरिरहेकी छिन्।

काठमाडौंका मेयर बालेन साहको पार्किङ व्यवस्थापनमा डीआइजी चौधरीको भूमिका अहम देखिएको थियो। त्यसैगरी, अब फेरिने प्रहरी महानिरीक्षकको दौडमा महिला प्रहरी पनि दाबीको साथ देखिएका छन्। चार जना महिला प्रहरी (डीआइजी) महानिरीक्षकको दाबेदार बनेका छन्।

त्यस्तै, प्राविधिकतर्फ एसएसपी देउती गुरुङले पनि इन्चार्जको जिम्मेवारी सम्हालिरहेकी छिन्। उनी केन्द्रीय कुकुर तालिम केन्द्र महाराजगन्जको इन्चार्ज हुन्। काठमाडौं जिल्लाको महत्वपूर्ण वृत मानिने दरबारमार्गमा पनि अहिले महिला प्रहरी (डीएसपी)कै कमाण्ड रहेको छ।

अहिले प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा चार जना महिला प्रहरी कार्यरत रहेका छन्। जसमा डीआइजी मिरा चौधरी, दुर्गा सिंह, किरण बज्रचार्य र किरन राना रहेका छन्। उनीहरु २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। पहिलो पटक आइजीको लागि एकै पटक धेरै महिला दाबेदार बनेका हुन्।

उनीहरु आगामी चैत ११ पछि चयन हुने प्रहरी महानिरीक्षकका दाबेदार हुन्। हालका प्रहरी प्रमुख (आइजी)ले चैत ११ गतेबाट अवकाश पाउँदैछन्।

कुन पदमा कति महिला प्रहरी?

प्रहरीमा महिला प्रहरी जवान सबैभन्दा धेरै छन्। त्यसो त प्रहरी संगठनमा सबैभन्दा धेरै सङ्ख्या भएको पद जवान नै हो। ४ हजार ३ सय २१ जना महिला प्रहरी जवान छन्। जबकी कुल पुरुष प्रहरीको सङ्ख्या ३७ हजार ८ सय ४९ रहेको छ।

नेपाल प्रहरीभित्र ५५ जना भन्दाबढी एसएसपी रहेका छन्। जसमा महिला एसएसपीको सङ्ख्या ४ रहेको छ। एसपी दर्जामा रहेका प्रहरीभित्र कार्यरत महिला प्रहरीको सङ्ख्या ८ रहेको छ। अहिले देशभर एसपीको सङ्ख्या १ सय ५५ भन्दाबढी रहेको छ।

३१ जना महिला प्रहरी डीएसपी रहेका छन्। त्यस्तै, प्रहरी निरीक्षक हुनेको सङ्ख्या १ सय ४३ रहेको नेपाल प्रहरी प्रवक्ता डीआइजी पोषराज पोख्रेलले जानकारी दिए।

प्रहरी नायव निरीक्षक (सई) को सङ्ख्या २ सय १४ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell