काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई उनले स्वागत गरेका हुन्।
काठमाडौं-दुबई-काठमाडौं उडान भरेका महिला चालक दल आज काठमाडौं आइपुगेको हो।
महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले मात्रै अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताए। महिलाहरुको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उनले बताए।
'पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि महिलाहरुले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरु (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरुको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ', किरातीले भने।
निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले मात्रै अन्तर्राष्ट्रिय उडान (काठमाडौँदेखि दुबई भएर पुनः काठमाडौँ) भरेका हुन्। पाइलटद्वय भावना पन्त र को-पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए।
उनका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौँको उडान भरेका हुन्। दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाजले गत फागुन २० गते राति ११ बजे काठमाडौँबाट दुबईका लागि उडान भरेको थियो।
निगमको आजको दुबई–काठमाडौँ उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाएकी थिइन्। यो उडानका सबै क्रू मेम्बर महिला थिए। विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ।
निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ। निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी ६ जना महिला पाइलट छन्। रासस