पोखरा : बिहान चार बजे ‘अलार्म’को घण्टीसँगै सुरु हुन्छ शर्मिला अधिकारीको दैनिकी। ओछ्यानबाट उठेर पूजापाठको काम सकेपछि हातमा कुचो र पोछा समाउँछिन्। सरसफाइँको काम सकेपछि भान्छाको काममा व्यस्त भइहाल्छिन् उनी।
बिहानको चिया नास्ता बनाएर परिवारका सदस्यलाई दिई नसक्दै खाना पकाउन हतार हुन्छ। खानासँगै छोराछोरीको खाजा तयार पार्नुपर्छ उनलाई। घरधन्दा सकेर हातमा आफ्नो खानाको टिफिन बोकेर उनी ‘पन्थी गल्ली’मा रहेको कस्मेटिक पसलतर्फ लाग्छिन्। घरधन्दा सकेर ९ बजे पसल खोल्न न्युरोडबाट ‘पन्थी गल्ली’ आउनु कस्मेटिक पसल सञ्चालन गर्दै आएकी शर्मिलाको दैनिकी हो।
साँझ घर फर्कदा पनि उनको दौड उस्तै हुन्छ। दिनभरको थकान मेट्न नपाउँदै उनी भान्छामा पस्नुपर्छ। श्रीमान पोखरामै एक संस्थामा जागिरे छन्। आम्दानीका लागि दुवैको रोजगारी छ। तर, घरको कामको जिम्मा भने शर्मिलाको मात्रै।
दोहोरो भूमिका बोकेर दौडधुपको दैनिकी शर्मिलाको मात्र भने होइन। आर्थिकरुपमा आत्मनिर्भर बनेका महिलाको दैनिकी हो यो। जुन सामान्य जस्तै बनेको छ हरेक महिलाहरुको लागि।
पोखराको एक संस्थामा कार्यरत सीता पौडेलको दैनिकी पनि शर्मिलाको जस्तै हतारमा बित्छ। बिहानको घरधन्दा सकेर १० बजे काममा पुग्छिन्। तीन नबज्दै छोरा मन्टेश्वरी फर्किने समय हुन्छ। घरको कामसँग कार्यालयको तालिका मिलाउन सकेर उनलाई थोरै सहज छ।
पोखरा कार्यालयबाट लेखनाथ घर फर्किन सीतालाई हतार हुन्छ। कार्यालयको काम सकेर घर पुग्दा थकान मेट्न उनले पनि पाउँदिनन्। घरायसी काममा लागि हाल्नुपर्छ। त्यसमाथि पाँच वर्षको बच्चा समाल्ने जिम्मा पनि उनको मात्रै छ।
‘घरायसी काम सम्हालेर बाहिर जागिर खान अत्यन्तै कठिन हुन्छ। महिलालाई घर र घरबाहिरको काम मिलाएर लैजान गाह्रो अत्ति नै छ। बाहिर जति नै कुरा गरे पनि महिलाहरु वास्तवमै पीडित छन्। कतिपयको कुरा खुलाउँछन्, कतिपय लुकाउँछन्। घर र बाहिरको काम मिलाउन सजिलो अवश्य छैन। तर, सकेसम्म शिक्षित महिलाहरु आफूलाई सहज बनाउने कोशिस गर्छन्,’ सीताले भनिन्।
वैवाहिक जीवनपछि घरायसी र बाहिरी काम समाल्न थप गाह्रो भएको सीताको अनुभव छ। वैदेशिक रोजगारमा रहेका श्रीमानको भने उनलाई साथ छ। रोजगारले उनी आर्थिक रुपमा आत्मनिर्भर छन्। उनको आम्दानीले घरखर्च चल्छ। श्रीमानको कमाइ बचत हुन्छ।
‘विवाह भएपछि र बच्चा भएपछि काम छोडेको त छैन, तर विवाह हुनुअगाडि जस्तो विवाह पछि भएन। बच्चा भएपछि पर्याप्त समय बाहिरी काममा त दिन सम्भव छैन, हेरौं बच्चा हुर्कदै गएपछि, बुझ्ने भएपछि चाहेजति समय दिन सकिएला। बुढाको साथ छ। काम गर्न केही सजिलो छ,’ उनले भनिन्।
कामको भार दोब्बर भए पनि सीता र शर्मिला आर्थिकरुपमा आत्मनिर्भर छन्। घरायसी कामको चापसँगै आम्दानीका बाटोमा छन्। घरधन्दा सघाउने कोही नभए पनि रोजगारीको लागि बाहिर निस्किन्छन्। उनीहरु जस्तै आर्थिक रुपमा आत्मनिर्भर छिन् मिना परियार पनि।
लेकसाइडमा चिया बेचेर उनले महिनाको २५ हजारसम्म आम्दानी गर्छिन्। श्रीमान वैदेशिक रोजगारमा छन्, सात वर्षको छोरा काखमा। श्रीमानको कमाइले मात्र घरखर्च चलाउन मुश्किल छ उनलाई। त्यसैले लेकसाइडको सडकमा चिया बेच्दै हिँड्छिन्। छोराको विद्यालय खर्च उनको कमाइले हेर्न पुग्छ।
‘आफनो खर्च आफैँ धान्न सक्छु। छोरालाई स्कुल पठाउँछु। बच्चाकै लागि हो गरेको। टाउको उठाउन नसकेर बिरामी भए आउँदिन नत्र सधैँ आउँछु। यसैबाट राम्रो भएछ,’ उनले भनिन्।
कक्षा एकमा पढ्छन् उनका छोरा। चिया बेच्न उनी एकाबिहानै उठेर चिया पकाएर फुटपाथमा ल्याउँछिन्। बिहान ८ बजे डिगोपाटन कोठामा पुगेर घरधन्दा सक्छिन्। छोरालाई विद्यालय पठाएर पुनः चिया बेच्न लेकसाइड आउँछिन्।
विद्यालयबाट छोरा घर आएपछि भोक लागे खानका लागि खाजा बिहानै तयार हुन्छ। साँझसम्म छोरा खाजा र फुटबलमा भुल्छ। आठबजेसम्म चिया व्यापार गरेपछि घर फर्किएर भान्छामा पस्छिन् मिना।
मिना जस्तै संघर्ष गरेर आर्थिकरुपमा सब्बल छिन् कामना पौडेल पनि। लेकसाइडकै फुटपाथमा बिहानको समयमा चिया बेच्छिन्, दिनभर कुल्फी। पाँचवर्षको छोराको जिम्मेवारी छ उनको काखमा। कामनालाई भने श्रीमानको साथ छैन। एकल आमा बनेर उनले छोराको जिम्मेवारी उठाएकी छिन्।
घरधन्दाको बोझले काम छाडछन् महिला
कस्टुम डिजाइनर हुन् दाङकी संगीत मगर। उनको आफ्नै व्यापार व्यवसाय छ। घरायसी काममा अल्झिरहने महिलाको समस्यामा उनी भने अपवाद हुन्। परिवारको साथ र सहयोगका कारण उनले आफ्नो व्यवसायमा निर्वाधरुपमा समय दिन पाउँछिन्। उनको बुटिकमा अहिले दुई जना महिलाले रोजगार पनि पाएका छन्।
अघिल्लो हप्ता मात्र एकजना महिलाले बिहेपछि जागिर छोडिन्। यो क्रम उनको बुटिकमा दोहोरिइरहन्छ। यसअघि उनको बुटिकमा चारजना महिला कार्यरत थिए। कसैले बिहेपछि काममा समय दिन नसकेर छोडछन्, कोही बच्चा पाएपछि।
‘मेरो पसलमा काम गर्ने स्टाफ बिहेपछि काम छाडेर घर बसेको देखेको छु। वर्किङ वुमनसँग काम गरिराको हुन्छु, उहाँहरु दुखेसो पोख्नुहुन्छ। घरमा सबै काम गरेर मात्र आफ्नो काममा समय दिनुपर्छ। नानी भएको आमालाई बच्चालाई समय दिन थप गाह्रो हुन्छ। देख्दा सुन्दा नरमाइलो लाग्छ,’ उनले सुनाइन्।
समाजमा साक्षर दर बढे पनि चेतना कम भएको गुनासो पोख्छिन् उनी। आम कामकाजी महिलाहरुको समस्या झन् निराशलाग्दो रहेको उनी सुनाउँछिन्।
महिलालाई वैवाहिक जीवनपछि 'करिअर' अगाडि बढाउन थप चुनौती रहेको उनको भनाइ छ। तर, उनी अपवाद हुन् यसमा। बिहेअगाडि स्पष्ट सर्त थियो उनको स्वतन्त्र रुपमा काम गर्न पाउनुपर्ने। परिवारको साथ पनि मिल्यो उनलाई। तर पनि बिहेपछि केही फरक भइहाल्ने उनको अनुभव छ। दोहोरो भूमिका निर्वाह गर्दै दुवै परिवारलाई समय दिन मुश्किल हुने उनको अनुभव छ।
चुनौती र संघर्षको समय हो : मिना गुरुङ
दोहोरो भूमिका निर्वाह गर्दै आर्थिक रुपमा अगाडि बढ्न चुनौती रहेको सुनाउँछिन् गण्डकी प्रदेशकी पूर्व सांसद मिना गुरुङ पनि। जिफन्ट गण्डकीकी संसद् तथा जनप्रतिनिधिको अध्यक्ष समेत रहेकी मिना घरायसीको कामको बाँडफाँट न्यायिक ढंगले नभएको दुखेसो पोख्छिन्।
‘भयंकर चुनौती छ अहिले। महिलाले अधिकार खोज्दै बाहिर नेतृत्वमा पुरुष सरह हिँड्न सक्छु, मैले आयआर्जन गर्नसक्छु भनेता पनि चुनौती छ। घरको जिम्मेवारी घरको काम बाँडफाँटमा न्यायक ढंगले भएको छ परिवारभित्र अझै पनि महिलाप्रति शोषण दमनको दुखदायी अवस्थाहरु हामीले देखेका छौँ,’ उनले भनिन्।
घरायसी काम न्यायिक ढंगले बाँडफाँट भए बाहिरी काममा महिलाले समय दिन सक्ने उनी बताउँछिन्। महिलाले निभाउन परिरहेको दोहोरो भूमिकाले सहिरुपमा समय सदुपयोग गर्न नसक्दा समस्या भएको उनको भनाइ छ।
‘नीति मात्र परिवर्तन भएर हुँदैन सोच परिवर्तन हुनुपर्छ। घरपरिवारले महिलालाई बुझिदिनुपर्छ। घरभित्रको काम बाँडे महिलाहरु समयमा हरेक ठाउँमा पुग्न सक्छन् र आफूले दिएको जिम्मेवारी पूरा गर्न सक्छन्,’ उनले भनिन्।
आर्थिक सशक्तिकरणको विषयमा नीति निर्माण बने पनि फितलो कार्यान्वयनले प्रतिफल दिन नसकेको गुनसो उनको छ। साथै, महिला आर्थिकरुपमा सशक्तिकरण हुनको लागि सुरुवातमा घरायसी काम बाँडफाँटबाट हुनुपर्ने विचार उनी राख्छिन्।
‘काम बाँडिएर महिलाले समय दिन पाए आर्थिक सशक्तिकरणको बाटो सुरु हुनसक्छ। समयलाई सहि सदुपयोग गर्नका लागि महिला आफैँ हिम्मतवाला हुनपर्छ। चुनौतीको र संघर्षको समय हो महिलाको लागि। यसमा सरकारले पनि नयाँ किसिमको नीति ल्याउन जरुरी छ,’ उनले भनिन्।
समस्या र चुनौती रहँदारहँदै पनि शून्यमा रहेको महिलाको अवस्था सुध्रिएकोमा खुशी व्यक्त गर्छिन् उनी। महिलाले पनि आर्थिक उपार्जनको बाटोमा अपनाउनुलाई परिवर्तनको रुपमा हेर्नुपर्ने मिना विचार राख्छिन्।
महिला श्रम सहभागिता दर घट्दै
विश्व बैंकले सन् २०२१ मा निकालेको तथ्यांक अनुसार नेपालमा ७८.६९ प्रतिशत महिला श्रममा सहभागी छन्। जसमा पुरुषको प्रतिशत ८०.७७ प्रतिशत छ। महिलाको प्रतिशत पछिल्लो समयको भन्दा घटेको हो। विश्व बैंककै तथ्यांक फर्किएर हेर्दा यो दर घट्दो हो।
२०१६ मा ८१.९६ प्रतिशत रहेको बढेर २०१७ मा ८२.४२, २०१८ मा ८२.४२ र २०१९ मा ८२.४९ पुगेको थियो। जुन घटेर २०२० मा ७५.७० पुगेको हो। यद्यपि, २०२० को तथ्यांक भन्दा २०२१ मा भने महिलाको श्रममा सहभागिता बढेको छ।
यस्तै, २०११ मा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को श्रमिक संघ नेपालले गरेको एक अध्ययनमा नेपालमा कम्तीमा दुई लाख घरेलु कामदार रहेको अनुमान छ। जसमा सबैभन्दा बढी महिला छन्। यस्तै, नेपाल श्रम सर्वेक्षण-२०१७/१८ का तथ्यांक अनुसार राष्ट्रिय श्रम सहभागिता दर र रोजगार संख्यामा लैङ्गिक असमानता छ।