PahiloPost

May 27, 2024 | १४ जेठ २०८१

लिग २ को अन्तिम सिरिज : सबै खेल जिते नेपाल शीर्ष ३ मा, मौसम कतिको चिन्ताजनक?



मुकुन्द घिमिरे

लिग २ को अन्तिम सिरिज : सबै खेल जिते नेपाल शीर्ष ३ मा, मौसम कतिको चिन्ताजनक?

काठमाडौं : मंगलवार नेपाली क्रिकेट टोली यूएईमा त्रिकोणात्मक सिरिज खेलेर स्वदेश फर्कियो। सँगसँगै यूएईको टोली पनि नेपाल आयो। सोमवार यूएईमा सिरिजको अन्तिम खेल खेलेको नेपालले भोलि (बिहीवार) नै कीर्तिपुरमा हुने त्रिकोणात्मक सिरिजको पहिलो खेल खेल्नेछ, पपुवा न्युगिनीसँग।

पपुवा न्युगिनीको टोली नेपाल र यूएईको टोली भन्दा अगावै नेपाल आईपुगेको थियो। नेपालले घरेलु मैदानमा पीएनजीसँग र यूएईसँग कूल ४ खेल खेल्नेछ। जसमा शतप्रतिशत जित निकाल्न सके सोझै शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्ने अवसर पाउनेछ भने कम्तीमा दुई खेल जित्नुपर्नेछ एकदिवसीय मान्यता जोगाउनका लागि।

यद्यपि, बुधवारबाट काठमाडौंमा वर्षा सुरु भएसँगै चिन्ता भने थपिएको छ। नेपाललाई शतप्रतिशत जित चाहिएको अवस्थामा वर्षाले बाधा गर्ने सम्भावना भने उत्तिकै हुन्छ। जल तथा मौसम विज्ञान विभागले बिहीवार पहाडी भुभागका केही क्षेत्रमा क्षणिक र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

'देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ,' मौसम विज्ञान विभागको बिहीवारको पूर्वानुमानमा भनिएको छ, 'देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।'

यदि वर्षाका कारण अंक बाँड्नु परेको खण्डमा नेपालको शीर्ष तीनमा पर्ने सम्भावना कमजोर हुनेछ। बाँकी खेलमा नेपाललाई ८ अंक चाहिएको अवस्थामा सबै चार खेलमा जित आवश्यक हुनेछ, शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्नका लागि।  

नेपालको तयारी

सिरिजका लागि नेपाल क्रिकेट संघले टोलीको घोषणासमेत गरिसकेको छ। रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुलसन झा, भीम सार्की र ललित राजवंशी छन्। त्यस्तै रिजर्भमा सुन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी र अर्जुन साउद रहेका छन्।

पछिल्लो खेलमा यूएईलाई हराएपछि क्यानले जारी गरेको भिडियोमा कप्तान रोहित पौडेलले बाँकी रहेका खेल जितेर शीर्ष ३ मा पुग्ने लक्ष्य लिएको बताएका छन्।

'टिम एफोर्टले हामीले यूएईलाई हरायौं। यसमा सबैजनाको योगदान रह्यो। अब अगाडिका खेलमा राम्रो गर्दै शीर्ष ३ मा स्थान बनाउने लक्ष्य छ,' पौडेलले भनेका छन्।

अंकतालिका

पछिल्ला ८ खेलमध्ये ७ वटामा जित निकालेको नेपाल छैटौँ स्थानबाट यसबिचमा पाँचौँ स्थानमा उक्लिन सफल भएको छ। नेपालले ३२ खेलबाट ३२ अंक नै जोडेको छ। नेपाल भन्दा पछाडि रहेको यूएई समान खेल खेलेर ३१ अंक जोड्दै छैटौँ स्थानमा छ भने पुछारमा रहेको पीएनजीले पनि ३२ खेल खेलेर ९ अंक जोडेको छ।

७ टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ मा सबै टोलीले ३६ खेल खेल्नुपर्ने हुन्छ। यो समूहमा नेपाल, पीएनजी र युएईले मात्रै अब केही खेल खेल्न बाँकी छ। नेपालमा यी तीन देशबिचको त्रिकोणात्मक सिरिज सकिएसँगै लिग २ को २०१९ बाट सुरु भएको 'ओडीआई साइकल' पूरा हुनेछ।

लिग २ को च्याम्पियन बनिसकेको स्कटल्याण्डले ५० र दोस्रो बनेको ओमनले ४४ अंक जोड्दै शीर्ष दुईमा रहेर विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ। तेस्रो स्थानमा ३९ अंक जोडेको नामिबिया भने तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोट खेल्नका लागि नेपालमै नेपालको एक हारको प्रतिक्षा गरिरहेको छ।

चौथो स्थानमा रहेको छ ३५ अंक जोडेको अमेरिका। एकदिवसीय मान्यता जोगाउनका लागि  यूएई र नेपालबीच आफू अनुकुलको नतिजा पर्खेर बसेको छ अमेरिका।

३२ अंक जोडेको नेपालले बाँकी ४ वटै खेल जितेको खण्डमा ८ अंक जोड्दै ४० अंक बनाउने छ, जुन तेस्रो स्थानमा सुरक्षित हुन पर्याप्त हुनेछ। त्यस्तै यूएई पनि शतप्रतिशत जित निकाल्दै नामिबियासँग अंक बराबरी गर्ने होडमा हुनेछ। तर, सबै खेल जितेको खण्डमा पनि १९ जित निकालेको नामिबिया यूएई भन्दा अघि रहनेछ।

यद्यपि, एकदिवसीय मान्यता जोगाउनका लागि पनि यूएईमाथि दवाब भने हुनेछ। त्यस्तै पुछारमा रहेको पीएनजीका लागि यो प्रतिष्ठाको लडाइँ हुनेछ।

खेलतालिका

नेपाल पीएनजी र यूएईबीचको त्रिकोणात्मक सिरिजका सबै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछन्।

नेपाल भर्सेस पीएनजी: फागुन २५ गते

नेपाल भर्सेस यूएई : फागुन २८ गते

नेपाल भर्सेस पीएनजी : फागुन २९ गते

नेपाल भर्सेस यूएई : चैत २ गते



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell