PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन एमालेले दोहोर्‍याउन सक्ला २०६५ को घटना?



प्रकाश भण्डारी

सुवास नेम्वाङलाई राष्ट्रपति बनाउन एमालेले दोहोर्‍याउन सक्ला २०६५ को घटना?

काठमाडौं: राष्ट्रपति पदका दुवै उम्मेदवार नेकपा (एमाले) का सुवास नेम्वाङ र नेपाली कांग्रेसका रामचन्द्र पौडेलले सबै दलका सांसदहरुसँत मत मागेका छन्। बिहीबार हुने निर्वाचनका लागि केही दिनअघिदेखि नै पौडेल र नेम्वाङले पार्टीका नेता र सांसदहरुलाई भेटेरै मत मागेका हुन्। नेम्वाङका पक्षमा खुलेर एमाले बाहेकका दल लागेका छैनन् भने पौडेललाई ८ दलीय गठबन्धनको साथ छ।  पौडेलले उम्मेदवारी दिने अघिल्लो दिन कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नागरिक उन्मुक्ति, जनमत र राष्ट्रिय जनमोर्चासहितको ८ दलीय गठबन्धन बनेको थियो। ८ दलीय गठबन्धनको साथ पाएकाले पौडेल राष्ट्रपतिमा निर्वाचित हुने करिब निश्चित छ।

एमालेले के कोसिस गरिरहेको छ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिमा पुरानै सहमति पालना गराउन एमालेले पटक-पटक आग्रह गरेको थियो। तर राष्ट्रिय सहमति भन्दै प्रचण्डले कांग्रेसलाई राष्ट्रपतिमा अघि बढाए। नयाँ गठबन्धन बनिसक्दा पनि एमालेले भने आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जिताउन कसरत गरिरहेको छ। त्यसका लागि गठबन्धनमा रहेका संसदका साना दल र कम्युनिस्ट पार्टीका सांसदहरुलाई आफूतिर तान्न एमालेले प्रयास गरेको हो। ‘मैले सबै दलका शीर्ष नेतालाई सामूहिक रुपमा र व्यक्तिगत रुपमा पनि भेटेको छु। उहाँहरुले तपाईँको उम्मेदवारी धेरै माथि छ भन्नुभएको छ। त्यसैले म भोलिको चुनावका लागि एकदमै उत्साहित छु,’ नेम्वाङले भने।

उनले आफूलाई गठबन्धन दलकै सांसदले पनि मत हाल्ने दाबी गरेका छन्।

एकीकृत समाजवादीका नेताहरुसँग पार्टी एकताको प्रस्तावसहित नेम्वाङ सहितका नेताले केही दिनअघि वार्ता गरेका थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेतासँग भएको वार्ता सकारात्मक भएको एमाले नेताको भनाइ छ। एकीकृत समाजवादी भने पछि सहकार्य गर्नेगरी राष्ट्रपतिमा कांग्रेसकै उम्मेदवारलाई जिताउने योजनामा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले कसको पक्षमा मतदान गर्ने भन्नेबारे निर्णय गरेको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदान नगर्ने निर्णय बुधबार गरेको छ। राप्रपाका केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मतदानमा सहभागी नहुने निर्णय गरेको हो।

गठबन्धन फुटाउन सकेमात्रै नेम्वाङ!

पौडेलको पक्षमा रहेका ८ दलको मतभार ३१ हजार ७९० छ। संघीय संसदमा १५ हजार ३२६ र प्रदेशमा १६ हजार ४६४ गरी ३१ हजार ७९० मतभार पौडेलको पक्षमा रहेको हो। एमाले एक्लैको मतभार संघमा ७ हजार ५८४ र प्रदेशमा ७ हजार ७२८ गरी १५ हजार ३१२ छ। ८ दलीय गठबन्धन बाहिर रहेका दलको जम्मा मतभार भने २० हजार ८३८ छ। यसरी हेर्दा ८ दलीय गठबन्धन फागुन २५ सम्म नटुटे ३१ हजार ७९० मतभारका साथ पौडेल राष्ट्रपतिमा निर्वाचित हुन सक्छन् भने एमालेका नेम्वाङ १० हजार ९ सय ५२ मतभारको अन्तरले पराजित हुने छन्। राष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेश सभा सदस्यको फरक फरक मतभार हुन्छ। संघीय संसदका सदस्यको एक जनाको मतभार ७९ हुन जान्छ भने प्रदेश सभा सदस्यको एक जनाको मतभार  ४८ हो।

एमालेका नेम्वाङले राष्ट्रपतिका लागि कसरत गरिरहेको भए पनि उनले अहिलेको ८ दलीय गठबन्धनमा विभाजन गर्न नसके उनी उम्मेदवारमै सीमित हुनुपर्ने छ। माओवादी र एकीकृत समाजवादीलाई आफ्नो पक्षमा उभ्याउन सके भने नेम्वाङका लागि पनि सम्भावना बन्ने छ। तर गठबन्धनमा विभाजन आउने सम्भावना न्युन छ। राष्ट्रपतिमा निर्वाचित हुनका लागि खसको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ।

२०६५ को विगत

पहिलो राष्ट्रपतिका लागि भएको चुनावमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। कांग्रेसका रामवरण यादव र माओवादीका रामराजप्रसाद सिंह दोस्रो चरणको निर्वाचनमा गएका थिए। यादवले त्यतिबेला राष्ट्रपति जिते। सिंहको जित पक्कापक्की भएकोमा एमाले र मधेश केन्द्रित दलले माओवादीका कांग्रेसका उम्मेदवारलाई समर्थन गरेपछि सिंह पराजित र यादव निर्वाचित हुन पुगेका थिए।

यादवको पक्षमा ३०८ र सिंहले २८२ मत ल्याएका थिए। सिंह जित्ने पक्कापक्की हुँदा पनि समीकरणमा आएको बदलावका कारण यादव त्यति बेला भाग्यमानी साबित भए।

राष्ट्रपतिको निर्वाचन पनि गोप्य हुने भएकाले सांसदहरुलाई पार्टीको ह्वीपको डर छैन। त्यसैले गठबन्धनमा विभाजन ल्याउन सकेमात्र नेम्वाङको सम्भावना देखिन्छ नत्र पौडेल निर्वाचित हुने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell