काठमाडौं : राष्ट्रपति पदको निर्वाचन अन्तर्गत बिहीवार मतदान हुँदैछ। बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि बेग्लाबेग्लै मतदान केन्द्र राखिएको छ। राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।
राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। पूर्व सभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्व अध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ।