PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नेपाली क्रिकेट टोलीले आज पीएनजीको सामना गर्दै



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीले आज पीएनजीको सामना गर्दै
फाइल फोटो क्यान

काठमाडौँ: क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा हुन गएरहेको त्रिकोणात्मक सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ।

नेपालले घरेलु मैदानमा पीएनजीसँग र यूएईसँग कूल ४ खेल खेल्नेछ। जसमा शतप्रतिशत जित निकाल्न सके सोझै शीर्ष ३ मा रहेर विश्वकप छनोट खेल्ने अवसर पाउनेछ भने कम्तीमा दुई खेल जित्नुपर्नेछ एकदिवसीय मान्यता जोगाउनका लागि।

पपुवा न्युगिनी र नेपाल अघिल्लो साता यूएईमा सम्पन्न त्रिकोणात्मक सिरिजमा पनि प्रतिस्पर्धा गरेर आएका हुन्। जसमा नेपालले दुई खेल खेल्दा दुबै खेलमा जित निकाल्न सफल भएको थियो।

यी दुई टोलीबीचका पछिल्ला पाँच खेलको कुरा गर्दा नेपालले तीन र पीएनजीले २ खेल जित निकालेका छन्।

पछिल्ला ८ खेलमध्ये ७ वटामा जित निकालेको नेपाल छैटौँ स्थानबाट यसबिचमा पाँचौँ स्थानमा उक्लिन सफल भएको छ। नेपालले ३२ खेलबाट ३२ अंक नै जोडेको छ। नेपाल भन्दा पछाडि रहेको यूएई समान खेल खेलेर ३१ अंक जोड्दै छैटौँ स्थानमा छ भने पुछारमा रहेको पीएनजीले पनि ३२ खेल खेलेर ९ अंक जोडेको छ।

७ टोली सम्मिलित क्रिकेट विश्वकप लिग २ मा सबै टोलीले ३६ खेल खेल्नुपर्ने हुन्छ। यो समूहमा नेपाल, पीएनजी र युएईले मात्रै अब केही खेल खेल्न बाँकी छ। नेपालमा यी तीन देशबिचको त्रिकोणात्मक सिरिज सकिएसँगै लिग २ को २०१९ बाट सुरु भएको 'ओडीआई साइकल' पूरा हुनेछ।

लिग २ को च्याम्पियन बनिसकेको स्कटल्याण्डले ५० र दोस्रो बनेको ओमनले ४४ अंक जोड्दै शीर्ष दुईमा रहेर विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ। तेस्रो स्थानमा ३९ अंक जोडेको नामिबिया भने तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोट खेल्नका लागि नेपालमै नेपालको एक हारको प्रतिक्षा गरिरहेको छ।

चौथो स्थानमा रहेको छ ३५ अंक जोडेको अमेरिका। एकदिवसीय मान्यता जोगाउनका लागि यूएई र नेपालबीच आफू अनुकुलको नतिजा पर्खेर बसेको छ अमेरिका।

३२ अंक जोडेको नेपालले बाँकी ४ वटै खेल जितेको खण्डमा ८ अंक जोड्दै ४० अंक बनाउने छ, जुन तेस्रो स्थानमा सुरक्षित हुन पर्याप्त हुनेछ। त्यस्तै यूएई पनि शतप्रतिशत जित निकाल्दै नामिबियासँग अंक बराबरी गर्ने होडमा हुनेछ। तर, सबै खेल जितेको खण्डमा पनि १९ जित निकालेको नामिबिया यूएई भन्दा अघि रहनेछ।

यद्यपि, एकदिवसीय मान्यता जोगाउनका लागि पनि यूएईमाथि दवाब भने हुनेछ। त्यस्तै पुछारमा रहेको पीएनजीका लागि यो प्रतिष्ठाको लडाइँ हुनेछ।

खेलतालिका

नेपाल पीएनजी र यूएईबीचको त्रिकोणात्मक सिरिजका सबै खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुनेछन्।

नेपाल भर्सेस पीएनजी: फागुन २५ गते

नेपाल भर्सेस यूएई : फागुन २८ गते

नेपाल भर्सेस पीएनजी : फागुन २९ गते

नेपाल भर्सेस यूएई : चैत २ गते



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell