काठमाडौं : रंगकर्मी अनुप बरालको निर्देशनमा ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटक मञ्चन हुने भएको छ। चैत १० गतदेखि मण्डला थिएटरमा मञ्चन हुने नाटक एक महिनासम्म चल्नेछ।
गोविन्द पराजुलीले निर्माण गर्ने यो नाटक एक्टर्स स्टुडियो र मण्डला थिएटरसँगको सहकार्यमा बनेको हो। नाटकका निर्देशक तथा परिकल्पनाकार समेत रहेका बरालले फेसबुकमा नाटकको पोस्टर सेयर गर्दै नाटकले खुसी र सुखको परिभाषालाई बहसमा ल्याउन चाहेको उल्लेख गरेका छन्।
‘यौटा सपनाको अवसान’ अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’को नेपाली अनुवाद हो। आर्थर मिलर लिखित नाटकलाई विप्लव प्रतीकले नेपालीमा अनुवाद गरेका हुन। नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटकलाई २० औं शताब्दीको उत्कृष्ट नाटकमध्ये एक मानिन्छ। यो नाटक विश्वका धेरै देशमा मञ्चन भइसकेको छ।
यस नाटकमा शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विजय बराल, विकास जोशी, रोयदीभ श्रेष्ठ आदि कलाकारको अभिनय रहनेछ। विगत एक महिनादेखि नाटकको रिहर्सल भइरहेको छ।
अनुपले तीन वर्षअघि मान्छेको लासमाथि भोज गर्ने राजनीतिज्ञलाई तिखो व्यंग्य गर्ने नाटक ‘महाभोज’ निर्देशन गरेका थिए।