PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कीर्तिपुरमा नेपालको कीर्तिमानी ब्याटिङ : पीएनजीलाई २९८ रनको लक्ष्य

कीर्तिपुरमा नेपालको कीर्तिमानी ब्याटिङ : पीएनजीलाई २९८ रनको लक्ष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)लाई २९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको हो।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ११० रनको साझेदारी बनाए।

शेखले शतकीय पारि खेल्दा भुर्तेलले ४५ बनाए। अर्धशतक बनाउन भुर्तेल ५ रनले चुके। भुर्तेलपछि आएका कुशल मल्लले २ र ज्ञानेन्द्र मल्लले १२ रनमात्र बनाउन सके। ठूलो साझेदारी बन्न नसकिरहेको बेला आएका कप्तान रोहित कुमार पौडेलले ३० रन बनाउँदा भीम सार्कीले ४४ रन बनाए।त्यस्तै आरिफ शेखले १५, करण केसीले ८ तथा सन्दीप लामिछानेले ७ रन बनाए।

नेपालका लागि सर्वाधिक रन आशिफ शेखको रह्यो। उनले ३६ औं ओभरको अन्तिम बलमा शतक पूरा गरे। १०१ बलमा १० चौका र २ छक्काको सहायतामा उनले शतक पुरा गरेका थिए। उनी ११० बलमा ११० रननै बनाएर आउट भए।

एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने उनी पाँचौँ खेलाडी हुन्। उनी अघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक बनाउने रेकर्ड बनाइसकेका छन्।

योसँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२ औँ खेलबाट एक हजार रन पूरा गरेका छन्। उनी एक हजार एकदिवसीय रन पूरा गर्ने दोस्रो खेलाडी हुन्। उनले सन् २०२१ मा पीएनजीविरुद्धकै खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनी अघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले हजार रनको कोशेढुंगा पार गरेका छन्।

पीएनजीविरुद्ध एकदिवसीय क्रिकेटमा नेपालले राष्ट्रिय कीर्तिमानसमेत बनाएको छ। ओडिआईमा नेपालले बनाएको यो सबैभन्दा ठूलो योगफल हो। यसभन्दा अघि नेपालले बनाएको सबैभन्दा ठूलो योगफल २८७ थियो। जुन फेब्रुअरी १४ मा नेपालले नामिबियाविरुद्ध बनाएको थियो।

बलिङतर्फ पीएनजीका सेमो कामियाले सर्वाधिक ५ विकेट लिँदा रिले हेकुरेले ३ र अलेइ नाओले १ विकेट लिए।

पीएनजी केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell