बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। कुवेतको जजिरा एयरवेजले आजदेखि पुनः उडान सुरु गरेको विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए।
खराब मौसमका कारण भिजिबिलिटी कम भएको बताउँदै गएको पुस ६ गतेदेखि जजिराले उडान रोकेको थियो।
कुवेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको जजिराको विमान ८ बजेर १५ मिनेटमा ९९ यात्रु लिएर उडेको हो। जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने प्रवक्ता झाले बताए।
भैरहवाबाट कुवेतका लागि एकतर्फी भाडा २८ हजार ८३६ रुपैयाँ तोकिएको छ।
गत जेठ २ गते विमानस्थल उद्घाटन भएसँगै जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कात्तिक १७ देखि चार्टर्ड उडान सुरु गरेको हिमालय एयरलाइन्सले पनि गएको पुस १ गतेदेखि उडान रोकेको छ।
विमानस्थल सञ्चालमा आएसँगै यहाँबाट १५६ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। यो अवधिमा १३ हजार ६५९ जना यात्रु विमानस्थलमा अवतरण गरेका छन् भने १८ हजार १२४ जनाले यहाँबाट उडान सेवा लिएका छन्। विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ।
यहाँ ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरीएको देशको दोस्रो ठूलो गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता रहेको छ।