काठमाडौं : नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी(पीएनजी)लाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको खेलमा नेपालले पीएनजीमाथि ५२ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पीएनजी ४७.१ ओभरमा सबै विकेट गुमाउँदै २४५ रनमा समेटियो।
उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ११० रनको साझेदारी बनाए। शेखले शतकीय पारि खेल्दा भुर्तेलले ४५ बनाए। भुर्तेलपछि आएका कुशल मल्लले २ र ज्ञानेन्द्र मल्लले १२ रनमात्र बनाए। त्यसपछि आएका कप्तान रोहित कुमार पौडेलले ३० रन बनाउँदा भीम सार्कीले ४४ रन बनाए। त्यस्तै, आरिफ शेखले १५, करण केसीले ८ तथा सन्दीप लामिछानेले ७ रन बनाए।
नेपालका लागि सर्वाधिक रन आशिफ शेखको रह्यो। उनले ३६ औं ओभरको अन्तिम बलमा शतक पूरा गरे। उनले १०१ बलमा १० चौका र २ छक्काको सहायतामा शतक पूरा गरे थिए। उनी ११० बलमा ११० रननै बनाएर आउट भए। एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने उनी पाँचौँ खेलाडी हुन्। उनी अघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक बनाइसकेका छन्।
यस सँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ३२ औं खेलबाट एक हजार रन पूरा गरेका छन्। उनी एक हजार एकदिवसीय रन पुरा गर्ने दोस्रो खेलाडी हुन्। उनले सन् २०२१ मा पीएनजीविरुद्धकै खेलबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। उनी अघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले हजार रनको कोशेढुंगा पार गरेका छन्।
पीएनजीविरुद्ध एकदिवसीय क्रिकेटमा नेपालले राष्ट्रिय कीर्तिमानसमेत बनाएको छ। ओडिआईमा नेपालले बनाएको यो सबैभन्दा ठूलो योगफल हो। यसभन्दा अघि नेपालले बनाएको सबैभन्दा ठूलो योगफल २८७ थियो। जुन फेब्रुअरी १४ मा नेपालले नामिबियाविरुद्ध बनाएको थियो।
बलिङतर्फ पीएनजीका सेमो कामियाले सर्वाधिक ५ विकेट लिँदा रिले हेकुरेले ३ र अलेइ नाओले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेको थियो। पीएनजीका ओपनर टोनी उराले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५० रन बनाउँदा अर्का ओपनर किप्लिङ डोरिगाले २६ रन बनाए। त्यसबाहेक नोर्मान भनुवाले अर्धशतकीय पारि खेल्दै ६० रन बनाउँदा कप्तान असद भालाले ४२ रन बनाए।
त्यस्तै रिले हेकुरले २० रन र चार्ल्स अमिनीले १४ रन बनाउँदा त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले २ तथा कुशल मल्लले १ विकेट लिए।
अंकतालिका
जितसँगै ३३ खेलबाट ३४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौँ स्थानमा कायम छ। अब तीन खेल जितेर तालिकाको शीर्ष ३ मा रहँदै विश्वकप छनोट खेल्ने समीकरण नेपालको कायम छ भने एक खेल जितेर एकदिवसीय मान्यता कायम राख्ने पनि अवसर छ।
नेपालपछि रहेको यूएईको ३२ खेलबाट ३१ अंक छ भने पीएनजीको ३३ खेलबाट ९ अंक छ।
नेपाल भन्दा अघि रहेको अमेरिकाले सबै ३६ खेल खेलिसकेर ३५ अंक जोडेको छ। नेपालले अर्को खेल जितेको खण्डमा अमेरिकालाई पछि पार्दै चौथो स्थानमा उक्लिनेछ।
तेस्रो स्थानको नामिबिया ३६ खेलबाट ३९ अंक जोडेर विश्वकप छनोट खेल्नका लागि समीकरणको पर्खाइमा छ। नेपालले बाँकी तीन खेलमध्ये कुनै पनि खेल हारेको खण्डमा नामिबिया तेस्रो स्थान पक्का गर्दै विश्वकप छनोटमा पुग्नेछ। च्याम्पियन स्टकल्याण्ड र दोस्रो स्थानको ओमनले यसअघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै विश्वकप छनोट खेल्ने पक्का गरिसकेका छन्।