PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

यस्तो छ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक इतिहास



पहिलोपोस्ट

यस्तो छ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको राजनीतिक इतिहास

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन्। यससँगै उनी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका छन्। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

नेपाली राजनीतिमा पौडेल लामो समयदेखि क्रियालशील छन्। प्रजातन्त्रको लडाइँमा धेरैपटक जेल जीवन बिताएका उनले अब शीतल निवासको यात्रा तय गरेका छन्।

यस्तो छ उनको राजनीतिक करियर

 राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पौडेल १६ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए।

२०२३ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित भएका पौडेल २०२७ मा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी भई संस्थापक केन्द्रीय सदस्य बने। २०३३ मा भारत निर्वासनबाट कोइराला फर्केलगत्तै उनीसँग निकट रहेर काम थालेका थिए पौडेलले। २०४० मा पार्टीको केन्द्रीय प्रचार समिति संयोजक भएका उनी २०४४ सालमा केन्द्रीय सदस्य बने।

करिब १३ वर्ष जेल जीवन बिताएका पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट जिते। संसद छिरेलगत्तै पौडेल २०४९ सालमा स्थानीय विकासमन्त्री बने। २०५१ सालको मध्यावधि चुनावमा तनहुँ-२ बाटै निर्वाचित भए। २०५१ साल पुसदेखि २०५५ चैतसम्म सभामुख बने। उनी २०५६ सालमा तनहुँ-२ बाट तेस्रो पटक निर्वाचित भए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०५७ सालमा उपप्रधान, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले।

२०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए। २०६४ मा उनी कांग्रेस उपसभापति भएका उनी सोही वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ-२ बाट निर्वाचित भए। २०६५ सालमा कांग्रेस संसदीय दलका नेता बने।

२०६७ सालमा १७ पटक चुनाव लड्दा पनि प्रधानमन्त्री पदमा निर्वाचित हुन सकेनन्। २०७० सालमा संविधान सभाको दोस्रो निर्वाचन तनहुँ-२ बाट जिते। २०७२ सालमा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि उनी कार्यवाहक सभापति बनेका थिए।

त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गरेका पौडेल लेखन संस्कृतिमा रुचि राख्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell