PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सँगै बसेर मदिरा सेवन गरेपछि साथीको हत्या



पहिलोपोस्ट

सँगै बसेर मदिरा सेवन गरेपछि साथीको हत्या

बुटवलः रुपन्देहीको सैनामैनामा एक युवाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले बिहीबार घटना अनुसन्धानबारे जानकारी गराउँदै उनीहरुलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका २ का १८ वर्षीय शिशिर थारु, अर्घाखाँची घर भई सैनामैना बस्ने २७ वर्षीय धुव्र बिसी, नवलपरासीको बर्दघाट नगरपालिका ९ का २५ वर्षीय  शेरबहादुर बोहोरा रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

मृतक युवाको भने हालसम्म पहिचान हुन सकेको छैन ।

सैनामैना नगरपालिका २ स्थित बाँबरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा बुधबार टाउकोमा गहिरो चोट लागेको अवस्थामा अन्दाजी ४० वर्षीय एक अपरिचित पुरुषको शव फेला परेको थियो। आरोपितहरुको प्रारम्भिक बयानअनुसार ढुंगाले हानेर युवाको हत्या गरेको स्विकारेका छन्। युवकको हत्या गरी लुकिछिपी बसेका उनीहरुलाई सैनामैनाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुले अघिल्लो दिन साँझ सँगै बसेर मदिरा सेवन गरेको खुलेको प्रहरी नायव उपरीक्षक थापाले बताए।

बुधबार दिउँसो सैनामैनामा जारी मेलामा नाचगान गरी रमाइलो गर्ने क्रममा उनीहरूको भेट भएको थियो। साँझ अपरिचित अवस्थामै उनीहरू नजिकैको रेस्टुरेन्टमा गएर मदिरा सेवन गरेका थिए।

‘मदिरा सेवन गरेपछि मृतक युवाले नै होटलको बिल तिरेको खुलेको छ। मृतकसँग केही नगद भएको र उक्त नगद लुट्ने योजनामा हत्या भएको हुन सक्छ।’ प्रहरी नायव उपरीक्षक थापाले भने।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell