काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफूलाई मतदान गरी विजयी बन्ने अवसर दिएकोमा सबै मतदातालाई आभार व्यक्त गरेका छन्। राष्ट्रपतिमा निर्वाचन भएपछि एक वक्तव्य जारी गर्दै पौडेलले शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मतदातालाई आभार व्यक्त गरेका हुन्।
'सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, संघर्ष र अभियानमा ज्यान गुमाउनु भएका सबै सपूत शहिदप्रति श्रद्धासुमन अर्पण गर्दछु,' पौडेलले भनेका छन्, 'मलाई साझा उम्मेद्वारका रुपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरु एवं मतदान गर्नु हुने सबै मतदाताप्रति हृदयतः आभार व्यक्त गर्दछु।
मित्रवत प्रतिस्पर्धामा रहनु भएका पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, उहाँको दल तथा मतदातालाई पनि हार्दिक सम्मान गर्न चाहन्छु।'
बिहीवार भएको राष्ट्रपतिको निर्वाचनमा पौडेल एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै निर्वाचित भएका हुन्। पौडेलले आफ्नो जिल्लाबासीलाई पनि आभार व्यक्त गरेका छन्। 'मलाई प्रतिनिधि सभा र संविधान सभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिनुभएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु,' उनले भनेका छन्।
पौडेलले राष्ट्रपति संस्थाको विधिको पालना गर्नसमेत प्रतिबद्धता जनाएका छन्। ‘राष्ट्रपति-संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु। नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्,' पौडेलले भनेका छन्, 'राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु।'
उनले निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकालाई समेत धन्यवाद दिएका छन्।