PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वेदमा आधारित नाटक 'वानप्रस्थ'मा संगीत दिन नेपालमा नर्वेको ब्यान्ड 'मोटरसाइको'

वेदमा आधारित नाटक 'वानप्रस्थ'मा संगीत दिन नेपालमा नर्वेको ब्यान्ड 'मोटरसाइको'

लक्ष्मी बलायर/पहिलोपोस्ट


काठमाडौं : नर्वेको चर्चित ब्यान्ड ‘मोटरसाइको’ टिम यतिखेर नेपालमा छ। नाटकमा म्युजिक भर्न नेपाल आएको ब्यान्डले बिहीवार मण्डला थिएटरमा साँगीतिक प्रस्तुती दियो।

संगीतकार न्ह्यु बज्राचार्य, निर्देशक सुवर्ण थापा, कवि विप्लव प्रतिक लगायतका कलाकारहरुले ब्यान्डको संगीत सुन्दै रमाए।

मण्डला थिएटरले नर्वेको ओस्लोस्थित थिएटर कम्पनी डे उट्भाल्ग्तेसँगको सहकार्यमा गर्न लागेको नाटक ‘वानप्रस्थ’ चैत १ गते पाटन दरबार संग्रहालयमा 'प्रिमियर' हुनेछ। त्यसैगरि, चैत २ गते भने नाटक यो नाटक सर्वसाधारणका दर्शकका लागि मञ्चन हुनेछ। सोही नाटकमा ‘मोटर साइको ब्यान्ड’ ले संगीत भर्नेछ।

‘मोटरसाइको’ ब्यान्डले यसअघि पनि काठमाडौंमा विभिन्न ठाउँमा कन्सर्ट गरिसकेको छ।

वानप्रस्थ’ नाम ‘वेद’ बाट जुराइएको हो। वेदमा उल्लेख गरिएअनुसार मानव जीवनका चार चरणहरु हुन्छन। जसमा पर्छन्: ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ, सन्यास। जसमध्ये तेस्रो चरण ‘वानप्रस्थ’ को शाब्दिक अर्थ जंगलको बाटो हो। जसले ५० वर्षदेखि ७५ वर्षसम्मको जीवनलाई दर्शाउँछ।

वेदकै ‘वानप्रस्थ’ को थिममा रहेको नाटक गर्न लागेको मण्डला थिएटरका सह-संस्थापक सोमनाथ खनालले जानकारी दिए। 

‘हाम्रोमा ५० वर्षपछि संसारिक माया/मोह त्यागेर जंगलको बाटो लाग्ने वेदमा उल्लेख छ। जहाँ उनीहरु आफूसँग भएको ज्ञान अरुलाई दिएर उमेरलाई सेलिब्रेट गर्ने चलन छ। जुन हाम्रो हिन्दु धर्मको पुरानो मान्यता हो। तर, पश्चिमी मुलुकमा चाँहि ५० वर्ष कटिसकेको मानिसहरुलाई खासै महत्त्व नदिँदो रहेछ। जसकारण बुढो भएपछि उनीहरु बुद्धआश्रम जानुपर्ने बाध्यता हुन्छ। जसकारण नर्वेको टिमले यस नाटकमा सहकार्य गरेको हो,’ उनले भने।

यो नाटक मल्टिमिडिया साइट स्पेसिफिक थिएटर हो। जसमा नेपाली थिएटर कलाकार, नर्तक र संगीतकारहरूसँग मिलेर थिएटर कम्पनी डे उट्भाल्ग्तेले नाटकमा मल्टिमिडियाको प्रयोग गर्नेछन। उनीहरुले क्रियटिभ तरिकाले प्रोजेक्टर प्रयोग गर्नेछन। जसको लागि नर्वेबाट ७ जनाको टोली नेपालमा छ।



ट्रेन्डिङ पोस्ट

Ncell