काठमाडौं : फिल्म ‘२.० छड्के’ फ्लप भएपछि नायक अनमोल केसीले आफू दुखी भएको बताएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई माया गर्ने दर्शकलाई निराश बनाउँदा झनै दुखी भएको बताएका छन्।
‘मलाई थाहा छ, मैले ‘२.० छड्के’मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाएँ, जुन दर्शकहरुको साथको कारण म यहाँ आइपुगेँ वहाँहरुलाई नै निराश बनाउँदा म झनै दुखी भएको छु!’ उनले लेखेका छन्।
‘२.० छड्के’ आफ्नो नवौँ सिनेमा भएको बताउँदै अनमोलले नवौँ सिनेमामा आएर आफू चुक्न पुगेको बताए।
उनले भनेका छन्, ‘विस्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ, घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु, दुखेका घाउहरुमा मल्हम लगाउने छु!’
फिल्म फ्लप भएपछि अब आफू शून्यमा रहेको भन्दै उनले करियरको पहिलो सिनेमा अबको दशौँ सिनेमा हुने समेत बताए। भने, ‘मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ! जबसम्म शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहिरहने छ मेरो कोशिस निरन्तर जारी रहने छ!’
हलमा ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ रिलिज भएका थिए। यी दुई फिल्मबिचको ‘हेभीवेट’ भिडन्त चलचित्रकर्मी र दर्शकका लागि पनि प्रतिक्षित थियो। किनकी ‘छक्का पञ्जा ४’ आफैँमा ‘ब्रान्ड’ फिल्म हो भने ‘२.० छड्के’ अनमोल अभिनित फिल्म हो।
तर, बक्सअफिसमा ‘ब्रान्ड’को अगाडि अनमोलको ‘स्टारडम’ले जादु देखाउन सकेन। ‘लभर ब्वाई’ भूमिकामा देखिँदै आएका अनमोलको ग्याङ्स्टर अवतारलाई दर्शकले रुचाएनन्। जसकारण ‘छक्का पञ्जा ४’ ले आक्रामक व्यापार गर्दा ‘छड्के २’ को व्यापार निराशाजनक रहेको हल सञ्चालक बताउँछन्।