PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

यूएईको मध्यक्रम फेरि चलेन, पीएनजीसँग ५६ रनले पराजित



पहिलोपोस्ट

यूएईको मध्यक्रम फेरि चलेन, पीएनजीसँग ५६ रनले पराजित
तस्बिर: क्यान

काठमाडौँ : क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजको आज सम्पन्न खेलमा यूएई पपुवा न्युगिनी (पीएनजी)सँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएई ५६ रनले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई ४२.२ ओभरमा १९० रनमा समेटियो।

उत्कृष्ट सुरुवात गरेको पीएनजीका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक बनाएका थिए। पीएनजीका सेसे बाउले सर्वाधिक अविजित ८१ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका ओपनर किप्लिङ डोरिगाले ४४ बलमा ५५ रन बनाए। त्यस्तै अर्का ओपनर हिरीहिरीले ८५ बलमा ७७ रन बनाएका थिए। दोस्रो विकेटका लागि हिरी र बाउले ११२ रनको साझेदारी गरेका थिए। त्यसपछि भने चाड सोपर र नोर्मान भौनाले समान १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले रनमा योगदान गर्न सकेनन् बलिङतर्फ यूएईका आयन अफ्जल खानले सर्वाधिक ३ विकेट लिँदा जुनैद सिद्धकी र जहुर खानले समान २ विकेट लिए। त्यस्तै रोहन मुस्तफा र कार्तिक मेइयाप्पनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको यूएईले सुरुवात ठीकठाक गरे पनि मध्यक्रममा भने पुरानै समस्या दोहोरियो। यूएईका आर्यन लार्काले सर्वाधिक ५१ रन बनाउँदा कप्तान मोहम्मद वसीले ४१ रन बनाए। त्यस्तै सीपी रिजवान र जवर फरिदले समान १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर गर्न सकेनन्।

यूएईलाई लक्ष्यसम्म पुग्न नदिले पीएनजीका रिले हेकुरेले सर्वाधिक ३ विकेट लिँदा कबुवा मोरे र असद भालाले समान २ विकेट लिए। त्यस्तै सेमो कमेआ र नोर्मन भौनाले समान १ विकेट लिए।

जितसँगै तालिकाको पुछारमा रहेको पीएनजीले ३४ खेलबाट ११ अंक जोडेको छ भने यूएई ३३ खेलबाट ३१ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। नेपाल ३३ खेलबाट ३४ अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ। पछिल्ला ६ खेलमा ५ हार ब्यहोरेको यूएई एकदिवसीय मान्यता जोगाउनै जोखिममा परेको छ।

नेपालले आइतवार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell