PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

नेपाली क्रिकेटको सुध्रिएको लय: फरक खेलमा अलग 'म्याच विनर', बाँकी ३ खेलको थप चुनौती



मुकुन्द घिमिरे

नेपाली क्रिकेटको सुध्रिएको लय: फरक खेलमा अलग 'म्याच विनर', बाँकी ३ खेलको थप चुनौती

काठमाडौं: सन् २०२२ को डिसेम्बर अन्तिमतिर लिग २ मा भइरहेको खेलमा पपुवा न्युगिनीपछि कुनै लय बिग्रेको टोली थियो भने त्यो नेपाल नै थियो। जुन १४ मा ओमनलाई हराएयता लिग २ मा ९ खेल खेलेको नेपालले एउटामात्र जित निकालेको थियो। लाग्थ्यो, नेपालले शीर्ष तीनको प्रतिस्पर्धा त परको कुरा, एकदिवसीय मान्यता जोगाउन पनि सक्ने छैन।

त्यसैबीच पटकपटक प्रशिक्षक परिवर्तन, कप्तान परिवर्तन, टिम भित्रको टसल र अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) का आन्तरिक किचलो अझ थपथाप भए। नेपालले खेलहरु सुम्पिरहँदा प्रतिस्पर्धीहरुले अंक दूरी बढाउँदै लगे।

तर एकाएक नेपालको लय फेरियो। संयोग मान्नुपर्छ भारतीय प्रशिक्षक मोन्टी देशाई आएपछि सुधारको संकेत देखिन थालेको हो। अनि शुरु भयो ब्याक टू ब्याक जितको शृङखला। घरेलु मैदानमा लिग २ को च्याम्पियन स्कटल्याण्ड र अनुभवी टोली नामिबियामाथि समान २-२ खेलमा जित निकालेर नेपालले क्लिनस्वीप गर्‍यो। त्यसपछि यूएई पुगेको नेपालले ४ मध्ये तीन खेलमा जित निकाल्दै छैटौँ स्थानबाट पाँचौँ स्थानमा उक्लियो। हारको शृङखलाले अंक तालिकामा यति ठूलो खाडल बनाएको थियो एक स्थानमा माथि उक्लन पनि नेपालले ७ खेलमा जित निकाल्नुपर्‍यो। ७ खेल अर्थात १४ अंकको दूरी।

काठमाडौंमा लिग २ कै अन्तिम सिरिज चलिरहेको छ। र, प्रतिस्पर्धामा छन्, पाँचौँ स्थानमा रहेको नेपाल, छैटौँ स्थानमा रहेको यूएई र तालिकाको पुछारमा रहेको पीएनजी।

नेपालले सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीलाई हराउँदै सिरिजको सुखद् सुरुवात गरिसकेको छ। नेपाल अब अर्को खेल जित निकाल्दा अमेरिकालाई पछि पार्दै एकदिवसीय मान्यता जोगाउन सक्षम हुनेछ।

अहिले समीकरण सोझो छ: एक जित निकालेको एकदिवसीय मान्यता जोगिने र तीन वटै खेलमा जित निकाले शीर्ष तीनमा रहँदै सिधै विश्वकप छनोट खेल्ने। भलै शीर्ष तीनमा नपरे पनि विश्वकप छनोट खेल्ने विकल्प भने बाँकी नै रहने छ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल बाँकी खेल कसरी जित्ने भन्नेमै टिम केन्द्रित रहेको बताउँछन्।

'हाम्रो थट प्रोसेस नै खेल कसरी जित्ने भन्ने छ। अहिले बाँकी खेल कसरी जित्ने भन्ने नै कुरा हुन्छ,' कप्तान पौडेलले भने, 'जसले पनि कन्ट्रिब्युट गर्नसक्छ, खेल चाहिँ जित्नुपर्छ। हामीलाई सबै खेल जित्नुपर्ने छ, त्यो महत्वपूर्ण छ।'

विश्व वरीयता

नेपालको खेलमा आएको नाटकीय परिवर्तनको असर विश्व एकदिवसीय वरीयतामा पनि परेको छ। १९औं स्थानमा संघर्ष गरिरहेको नेपाल हाल १७औं स्थानमा उक्लिएको छ।

विश्वकप सपना

एकदिवसीय मान्यता नै धरापमा परिरहेको अवस्थाबाट पुनरागमन गर्दै नेपालले विश्वकप छनोट हुने सपना देख्न थालिसकेको छ।

बिहीबार पीएनजीविरुद्ध शतक प्रहार गर्दै नेपालको जितमा महत्वपूर्ण योगदान दिएका आशिफ शेख टिमको लक्ष्य शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने नै भएको बताउँछन्।

'हाम्रो अगाडि तीनवटा म्याच छ। तीन वटा म्याच जितेर हामी विश्वकप छनोट खेल्न जानसक्छौँ। अहिले भने एकपटकमा एउटा म्याचमा केन्द्रित हुँदै तयारी गरिरहेका छौँ,' शेखले भने।

अझ ती तीनवटै खेल घरेलु मैदानमा हुँदा नेपालका लागि थप फाइदाको विषय हुने उनी बताउँछन्।

'टियुमा खेल्दा अलिकति फाइदा चाहिँ हुन्छ। होम क्राउडको अगाडि खेल्दा हरेक बलमा चियर पनि गरिरहेको हुन्छ,' उनले भने।

ह्याप्पी ड्रेसिङ रुम

माघको अन्तिम सातातिर नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक मोन्टी देशाईलाई औपचारिक रुपमा सार्वजनिक गर्दा उनले एउटै लक्ष्य भएको बताएका थिए : ह्याप्पी ड्रेसिङ रुम।

सायद उनले नेपाली टोलीभित्रको पछिल्ला किस्साहरुलाई नजिकबाटै बुझेका थिए। त्यसैले पनि 'ह्याप्पी ड्रेसिङ रुम'को उनको रणनीति नै बनाएर उनी आए। जसरी एकताका फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अघि सारेका थिए, 'वान टिम, वान गोल, जय नेपाल'।

देसाइभन्दा अघिका प्रशिक्षक मनोज प्रभाकर छँदा होस् वा उनीभन्दा अघिका प्रशिक्षक पुबुदु दासानयके छँदा: नेपालको ड्रेसिङ रुमको समस्या बाहिर छताछुल्ल भएको थियो। ज्ञानेन्द्र मल्लले कप्तानीबाट हात धुँदा र ४ खेलाडीले कारबाही ब्यहोर्दा गुट-उपगुट सतहमा आएको थियो। पछि सन्दीप लामिछाने कप्तानीमा आएपछि यो पक्ष थप छताछुल्ल भएको थियो। यो कुरालाई तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पनि स्वीकारेका थिए। त्यसपछि आएका मनोज प्रभाकरको सम्बन्ध खेलाडीसँगै जमेन। केन्या टुरमा केही सिनियर खेलाडीसँग भनाभन नै भएको किस्सा बाहिर आएको थियो।

खैर, ड्रेसिङ रुमको सम्बन्ध राम्रो बनाउनु पर्ने आवश्यकता बुझेका देसाइले आफ्नो रणनीतिमा सुरुमै पासा फाले: ह्याप्पी ड्रेसिङ रुम।

उनको यही रणनीति सफल पनि देखिएको छ। उनी मुख्य प्रशिक्षकमा आएयता नै हो नेपालले ९ खेल खेल्दा ८ वटामा जित निकालेको।

'अहिलेको टिमको नजिताहरुले राम्रो ड्रेसिङ रुमको महत्वपूर्ण प्रस्तुत गर्छ। फेरि ड्रेसिङ रुमले कसरी काम गर्छ भन्नेमा केन्द्रित हुन चाहन्छु। ड्रेसिङ रूमभित्रको शान्ति फेरि पनि महत्वपूर्ण हुन्छ', प्रशिक्षक देशाइले नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सिरिजका क्रममा भनेका थिए।

फरक खेल, फरक म्याच विनर

कुनै समय थियो नेपाली क्रिकेट टोलीको जितमा लगभग सधैंजसो नायक देखिन्थे पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवकर। त्यसपछिको पुस्तामा दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, रोहितकुमार पौडेल, आरिफ शेखलगायतको वरिपरि धेरैजसो जितहरु घुमेको पाइन्थ्यो।

तर पछिल्ला जितहरुमा भने 'प्याट्रन' फेरिएको छ। नेपाली टोलीको कहिले शीर्षक्रम, कहिले मध्यक्रम त कहिले तल्लोक्रममा आएर पनि निर्णायक प्रदर्शन गरिरहेका छन्। बलिङमा सन्दीप एकनासले उत्कृष्ट प्रदर्शन गरिरहँदा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीलगायतको प्रदर्शन पनि राम्रो भइरहेको छ। बिहीबारको पीएनजीविरुद्धको खेलमा त कप्तान रोहित पौडेलले नै राम्रो इकोनमीमा बलिङ गर्दै पीएनजीलाई लक्ष्य नजिक पुग्नबाट रोक्न महत्वपूर्ण भूमिका खेले।

पछिल्ला पाँच जितलाई हेर्दा बिहीबारको खेलमा आशिफ शेख 'म्याच विनिङ' भूमिकामा हुँदा अघिल्लो सिरिजको यूएईविरुद्धको खेलमा भीम सार्की र दीपेन्द्रसिंह ऐरीको प्रदर्शन उच्च थियो। त्यस्तै पीएनजीसँगको दुई खेलमा आशिफ र सन्दीप तथा कुशल भुर्तेल र गुलसन झा त्यो भूमिकामा देखिएका थिए। यूएई सिरिज अघि नेपालमा भएको सिरिजमा स्कटल्याण्डविरुद्धका दुई खेलमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, करण केसी तथा दिपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण थियो। त्यस्तै नामिबियासँगको दुई खेलमा आशिफ शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल तथा कुशल भुर्तेलको भूमिका महत्वपूर्ण थियो।

अंक तालिका

नेपाली क्रिकेट टोली क्रिकेट विश्वकप लिग २ को पाँचौँ स्थानमा छ। नेपालले ३३ खेलबाट ३४ अंक जोड्दा नेपालभन्दा अघि रहेको अमेरिकाले सबै ३६ खेल खेलेर ३५ अंक जोडेको छ। नेपालले आइतबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले यूएईलाई हराएको खण्डमा अमेरिकालाई पछि पार्दै चौथो स्थानमा छ। र, हुनेछ एकदिवसीय मान्यता सुरक्षित।

तर नेपालको लक्ष्य एकदिवसीय मान्यता जोगाउने मात्र नभएर शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्ने हो। हात तेस्रो स्थानमा ३९ अंक जोडेको नामिबिया छ। नेपालले बाँकी तीन खेलमा जित निकाले नेपालको ६ अंक जोड्नेछ। ६ अंक अर्थात कुल ४० अंक जुन तेस्रो स्थानमा पुग्नलाई पर्याप्त हुनेछ।

तालिकाको शीर्ष दुईमा भने च्याम्पियन स्कटल्याण्ड र ओमनले क्रमश ५० र ४४ अंक जोड्दै विश्वकप छनोट खेल्ने पक्का गरिसकेका छन्।

३३ खेलबाट ३१ अंक जोडेको यूएई र ३४ खेलबाट ११ अंक जोडेको पीएनजी भने अंकतालिकाको छैटौँ र सातौँ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell