काठमाडौं : आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। मनोनयनपत्र दर्ताको समय बिहान ९ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन हुनेछ।
संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ। राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने छ।
उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहनेछन्। उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ। सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ।