PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

उपराष्ट्रपतिमा सत्तारुढ दलबाटै तीन जनाको उम्मेदवारी पर्न सक्ने, यादवलाई किन रोक्न चाहन्छ माओवादी?



पहिलोपोस्ट

उपराष्ट्रपतिमा सत्तारुढ दलबाटै तीन जनाको उम्मेदवारी पर्न सक्ने, यादवलाई किन रोक्न चाहन्छ माओवादी?

काठमाडौं : एमालेले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ। तर सत्तारुढ दलले भने उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सकेन।

शनिवार बिहान बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा जनता समाजवादी पार्टीले आफ्नो तर्फबाट उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई अघि बढाउने प्रस्ताव गरेको छ। तर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने माग उठेसँगै जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने प्रस्ताव गरेको छ। 'जनमत पार्टीबाट ममता झाको उम्मेदवारी दर्ता हुन्छ,' बैठकपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले भने।

यता जसपाले पनि यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 'हामी आफ्नो निर्णयमा अडिग छौं। रामसहायप्रसाद यादवले आज उम्मेदवारी दर्ता गर्नुहुन्छ,' जसपाका प्रवक्ता मनिषकुमार सुमनले बताए। सत्तारुढ दलमा सहमति नहुँदा तीन जना उम्मेदवार हुने सम्भावना भएको राउतको भनाई छ। उम्मेदवारी दर्तापछि भोलिमात्र गठबन्धनले फाइनल उम्मेदवार तय गर्ने बताइएको छ।

सत्तारुढ दलमा राष्ट्रपति कांग्रेस र उपराष्ट्रपति जसपालाई दिने यसअघि सहमति भइसकेको दाबी जसपाले गर्दै आएको छ। यसअनुसार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्। सत्तारुढ दलमा माओवादीले जसपाका उम्मेदवार यादवलाई उपराष्ट्रपति पदमा नरुचाएको बताइएको छ। यादवलाई अघि सारेर जसपाका अध्यक्ष उपेन्द्र यादव चुनावमा उत्रने दाउ रहेको भन्दै आलोचना बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell