PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

‘अपार्टमेन्ट’भित्रको व्यथा ‘विमोक्ष’



नेत्र तामाङ

‘अपार्टमेन्ट’भित्रको व्यथा ‘विमोक्ष’
फोटोहरु : शैली थिएटर

झन्डै ८ वर्षअघि भुँईमै बसेर थकाई मार्दै सुसेली हाल्ने ठाउँमा चिटिक्कको बेड, महँगा सोफा र र्‍याकले सजिएका थिए। झरीले चिप्लो बनेको उकालो बाटोहरुमा फलामको भर्‍याङ फिट भइसकेको। जाँडले भरिएका सिल्पटका डबका ठोक्किने त्यो चौर हुँदी अहिले ह्विस्की भरिएको गिलास ‘चियर्स’ हुँदै थियो। ‘धरान’मा काठ चिरिरहेका आह्रवालहरुको ठट्टा सुनिने त्यो ठाउँमा बेड सिनमा रातोतातो यौनका रफगफ चल्न थालिसकेछ। अन्तत: त्यो लामपते सुरतीको बासना चल्ने चौतारी अहिले ‘ब्रान्डेड’ चुरोटको धुवाँ उड्ने अपार्टमेन्ट बनिसकेछ।

समय नै फेरिसकेछ नि। आठ आठ वर्षको अन्तरालमा धेरै कुरा फेरिन्छ। यो ठाउँ फेरिनु कुन नौलो कुरो भयो र! समय फेरिए पनि ठाउँको बनोट फेरिए पनि आखिरी त्यहाँ बस्ने पात्रहरुलाई भने भारीले थिचिरहेको भेटियो। फरक यति, त्यतिबेला नुनका भारी बोकेर पहाडतिर उक्लँदै हलुका हुन खोजिरहेका पात्रहरु भेटिन्थे। अहिले प्रेमको स्मृति बोकेर बुढ्यौलीतिर उक्लिरहेका पात्रहरुसँग साक्षात्कर गर्ने मौका पाएँ। फरक यति, त्यतिबेलाका पात्रहरु लौरो टेकेर भारी बोक्थे, अहिलेका पात्रहरु सम्झनाको वैसाखी टेक्दै अक्सिनको मास्क लगाएर अतीतले थिचिरहेको भेटिए।

***

कुरा गोठाले नाटकघरको। एकताका २०७२ साउनतिर हुनुपर्छ, त्यही पर्दामा ‘लाटो पहाड’ मञ्चन हुँदै थियो। वर्षायाम भएकाले होला - त्यतिबेला भित्री सेटमा पनि वर्षा हुन्थ्यो। ‘थ्रिडी’ शैलीको लाटो पहाडको स्वाद फड्कार्दै निस्केको पनि धेरै समय बितिसकेछ। लाटो पहाडको त्यो भारी बिसाउने चौतारीमा डबल बेड सजिएको थियो शुक्रवार साँझ पुग्दा। अनि भित्तामा अड्याइएको र्‍याकमा सम्मानपत्र र पुरस्कारको सजावट। अझ लाटो पहाडको चिप्ला उकालोमा फलामको भर्‍याङ अडिएका। त्यतिबेलाको त्यो चौतारीमा अहिले एउटा अपार्टमेन्टको कथा बोकेको नाटक प्रदर्शन हुँदैरहेछ। नाम - विमोक्ष।

***

मुमाहजुर चुरोटको सर्कोसँगै आफ्नो विगत याद घुटुक्क निल्छिन्। तर जवान रश्मिदेवी उनलाई चुरोट नतान्न अर्ती दिन्छिन्। उस्तै पहिरनमा देखिएका मुमाहजुर र रश्मिदेवीको चुरोट संवादबाट नाटक सुरु भयो। बेड नजिकै सिलिन्डर, अनि अक्सिजनको माक्स लगाएर आफ्नो प्रेमीको पर्खाइमा बसेकी चाउरी परेकी मुमाहजुर। त्यहीबेला दीप दर्नालको इन्ट्री। कमल - मुमा हजुरले भन्छिन्। तर दीप आफ्नो असली परिचय दिन्छन्। अनुहार हेर्न चाहन्छिन् मुमाहजुर। तर दीप फर्केर पनि हेर्न चाहदैनन्।

मुमाहजुरले दीपलाई किन त्यहाँ बोलाएका थिए त? यही प्रश्नबाट नाटकको आरम्भ हुन्छ। दीप मुमाहजुरलाई घर छाडेर अपार्टमेन्टमा बस्नुको कारण सोध्छन्। तर मुमाहजुर(सगुना शाह) आफू र दीप(घिमिरे युवराज)को विगततिर फर्किन्छिन्। विगत(फ्ल्यासब्याक) माथिल्लो कोठामा देखाइन्छ। जहाँ कमल घिमिरे(सागर खाती कामी) र रश्मि आन्टी(पवित्रा खड्का)को रोमान्स हेर्न सकिन्छ। रश्मि आन्टीको ब्रा र कमलको कोमल शरीर त्यही दीप र मुमाहजुरको वैशालु अतीत हो।

कर्णेलकी श्रीमती मुमाहजुरको यौनकुण्ठा दीपकै मुखबाट प्रष्टै पोखिन्छ। दुम्सीको मासुले यौन उत्तेजना बढाउने कुरा कर्णेलले नै सिकाएका हुन्छन् दीपलाई। सपनाको सहरमा दर्नाल भएकै कारण दीपले कतै डेरा पाउँदैनन्। कैयन् प्रयासपछि उनी समाचारहरुबाट प्रभावित भएर कमल घिमिरे बन्छन् र कर्णेल्नीकहाँ डेरा पाउँछन्। एक दिन युद्धको समयमा कर्णेलको मृत्यु हुन्छ। 'के निहुँ पाउँ कनिका बुक्याउँ' भने झैं अझ केही दिनमा थाह लाग्छ कर्णेलको अर्कै श्रीमती र छोरा पनि छन्। त्यसदिनबाट रश्मि आन्टीको प्रेम कमलसँग छताछुल्ल पोखिन्छ। कर्णेलको दमनमा रहेकी रश्मि आन्टी त्यसपछि एकाएक उन्मत्त हुन्छिन्। प्रेमको छाल एकाएक कमलमा पोखिन्छ। रश्मि आन्टी कमलमा बेरिन्छिन्। पटक-पटकको बेड सिनले दर्शकलाई बीपी कोइरालाको ‘सुम्निमा’ सम्झाइरहन्छ। अनि बेलाबेला कतैकतै काउकुती लगाएर खित्का निकाल्छ।

रश्मिभन्दा कमल २५ वर्षले कान्छो हो। उन्मत्त रश्मि आन्टी कर्णेलका निशानाहरु मेटाउँदै जान्छन्। यद्यपि कमल मरिसकेका कर्णेलबाट पनि त्रसित् हुन्छन्। आफूलाई लखेटेको देख्छन् सपनामा। तर एक दिन दर्नाल भएको थाह पाउँछिन् कमलकै बहिनीका कारण। जसले कमल दीप भएर उक्त घरबाट निकालिन्छन्। केही दिनमा कर्णेलकी अर्की श्रीमतीले घर दाबी गर्न आइपुग्छिन् छोरासहित। त्यसपछि दुई छोरी लिएर मुमाहजुरले पनि घर छाड्नुपर्छ। त्यहीबाट शुरु हुन्छ दीपको पर्खाई, उही अपार्टमेन्टमा।

कथा यही सेरोफेरोमा घुमेको छ। एकै सेटमा दुई सिन नाटक देखिन्छ। ‘क्रस-कट’ शैली पछ्याएको नाटकमा ‘थ्रिडी’को स्वाद छँदै छ यसले सहरी उच्च घरानाको कथा पनि ओकल्छ। सहरमा लेखकहरु थुप्रै छन्। तर उच्च घरानाका कथा लेख्न तिनलाई बर्जित गरिन्छ। किनभने उच्च घरानाकाहरु ‘घोस्ट राइटर’लाई मीठामीठा र सुखसफलताका कथाहरु लेख्नमात्र डाक्छन्। तर दु:खका पोकाहरु अपार्टमेन्टको डास्बिन हुँदै ल्यान्डफिल साइटतिर लाग्छन् त कोही बाथ टब र ट्वाइलेटहरुबाटै ढलतिर मिसिन्छन्। अनि कति त त्यही बन्द कोठाभित्र उकुसमुकु भएर चाप बढाइरहेको हुन्छ विस्फोटको तयारीमा। विमोक्षले यही कथा देखाउन अपार्टमेन्टको ठूलो र बलिया पर्खाल भत्काइदिएको छ।

झन्डै डेढ घन्टाको नाटकमा महिलापात्रद्वयको प्रस्तुति दमदार छ। सायद कर्णेलको मृत्युपछि महिला पात्रलाई सशक्त देखाउने कथाको माग नै हो। दर्शकलाई अत्यास लाग्ने विषय भनेको हो -  एकै पात्रलाई किन यति धेरै गहकिला 'डायलग'हरुको जिम्मेवारी दिइएको होला? कथाले मागेपछि - सायद निर्देशकको रेडिमेड जवाफ आउला। सहरको कुनै कुनामा अरुको नजरमा शान्त रहन चाहने परिवारभित्र भित्रभित्रै भने भुसको आगो झैं पीडाहरु सल्किरहेका छन्। यहीभित्र पितृसत्ता, कठोर अनुशासन र विभेदका विषयहरु तिखा कडा झैं उम्रिरहेका छन्। भ्रम नै सही, ती परिवार नेगेटिभलाई पोजेटिभ तरिकाले न्यारेट गर्छन् आफ्ना बेथाहरु। भ्रमको मखुन्डो जब उतारिन्छ र एकैपटक जब लाग्छ स्वतन्त्रको झोक्क, फेरि घाइते हनु पुग्छन्। नाटककार घिमिरे युवराज र परिकल्पनाकार तथा निर्देशक प्रवीण खतिवडाले यस्तै विषयमा रिसर्चर बनाएर दीपलाई अडियन्सको जिम्मामा छाडिदिन्छ।

साथमा केही प्रश्नहरु पनि।

के नाटकमा भनिए झैं महिला र दलितले भोग्ने विभेद एउटै हो त?

अनि कर्णेलको अर्कै श्रीमती भएको विषय फोनमा सुन्ने बित्तिकै रश्मि आन्टीहरु छिट्टै आफूलाई उन्मत्त बनाउन हतारिन्छिन् होला?

र, जवानीमा कमलले रश्मिलाई र बुढ्यौलीमा रश्मिले कमल चाहनुको कारण के होला?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell