काठमाडौं : नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। संसद् भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा एमाले र सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी परेको हो।
शाक्यको प्रस्तावकमा एमालेका सांसद केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुविर महासेठ छन्। समर्थकमा भने कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल छन्।
जसपाका यादवको प्रस्तावकमा सांसदहरु अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन्। समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी छन्।
चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ।