काठमाडौं : जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छिन्। सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उम्मेदवार रामसहाय यादवविरुद्ध उम्मेदवारी दर्ता गराएको हो।
नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी छिन्। जनमतका अध्यक्ष डा सिके राउतले उपराष्ट्रपतिमा महिला हुनुपर्ने भएकाले आफ्नो पार्टीले महिलालाई उम्मेदवार बनाएको बताए। उनले गठबन्धनसँग पनि मित्रवत प्रतिस्पर्धामा रहेको बताए।
‘उहाँ कानुनी पृष्ठभूमिबाट हुनुहुन्छ। मित्रवत प्रतिस्पर्धा हुन्छ,’ राउतले भने।
उम्मेदवारी दर्तापछि झाले आफ्नो पार्टीको निर्णय अनुसार उम्मेदवारी दिएको बताइन्। उनले आफूले पछि फिर्तालिने गरी उम्मेदवारी नदिएको पनि बताइन्।
यस्तै, जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट २ जनाले उम्मेदवारी दर्ता गराएका छन्। रामसहाय यादव र प्रमिला यादवले उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका हुन्।
चैत ५ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज २ बजेसम्म उम्मेदवारीको समय थियो। राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन्।