ललितपुर : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराई आश्रम पुगेर उनको शालिकमा माल्यार्पण गरेका छन्। उक्त अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमको सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस नेता एंव भारतका लागि पूर्व नेपाली राजदुत दीपकुमार उपाध्याय, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाल, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, नेपाली कांग्रेस वाग्मती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेलगायतले गरेका थिए।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराइन्। नवनिर्वाचित राष्ट्रपति पौडेल नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको सरल र सदगी जीवनबाट प्रभावित थिए। यसैबीच नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिवार नै कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्णपण गरे। पौडेल पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एसका महासचिव वेदुराम भुषाल, काठमाडौ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए। उक्त अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए।
बिहीवार राष्ट्रपतिमा निर्वाचित पौडेल शनिवार पशुपतिनाथ र स्वयम्भु पुगेका थिए। त्यसैगरी पौडेल शनिवारै सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेका थिए।