PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

केही दिनमा समाजवादी मोर्चा बन्न प्रचण्डको दाबी : फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं



पहिलोपोस्ट

केही दिनमा समाजवादी मोर्चा बन्न प्रचण्डको दाबी : फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बन्ने बताएका छन्। केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल हुने प्रचण्डले बताएका हुन्।

शनिबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले एकताका लागि बहस सुरू हुने बताए। 'शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ,' प्रचण्डको भनाइ छ। माओवादी धाराका कम्युनिस्टबिच छलफल भइरहेको उनले बताए। 'संसारमा एकपटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका बिरलै दृष्टान्त छन्। चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ। नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ,' उनको भनाइ छ। 

एमालेभित्र पनि ठूलो पंक्ति वामपन्थी एकताको पक्षमा रहेको प्रचण्डको दाबी छ। 'एमालेको मूल नेतृत्व कम्युनिस्ट एकताको विरूद्धमा छ, नेकपा विभाजित हुँदा हिजो जसले दीपावली गर्‍यो, पार्टी एकता भाँड्यो, त्यो शक्ति र प्रवृत्तिबाहेक एमालेभित्र पनि अधिकांश नेता–कार्यकर्ता फेरि नेकपा चाहिन्छ भन्नेमा छन्,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell