PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

उपराष्ट्रपतिमा तीन दलको छुट्टै मोर्चा : जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति



पहिलोपोस्ट

उपराष्ट्रपतिमा तीन दलको छुट्टै मोर्चा : जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

काठमाडौंः उपराष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा तीन राजनीतिक दलहरुले कार्यगत एकताको सहमति गरेका छन्। राजनीतिक एजेन्डामा कार्यगत एकताको सहमति ती दलहरुबीच भएको हो।

डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति जनमतका अध्यक्ष सिके राउतले सार्वजनिक गरेका छन्। आपसी सहमतिका आधारमा सहकार्य र कार्यगत एकताको समझदारीमा राउत, ठाकुर र श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

उपराष्ट्रपतिको मनोनयन सकिएलगत्तै तीन दलबीच सहमति भएको हो। 

उपराष्ट्रपति निर्वाचन, मधेश र थरुहट आन्दोलनका मुद्दाको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता, बन्दीहरुको रिहा र विगतमा भएका सहमति कार्यान्वयनका लागि तीन दलबीच कार्यगत एकता भएको राउतले उल्लेख गरेका छन्। 

उपराष्ट्रपतिमा जनमत पार्टीले समेत उम्मेदवारी दिएको छ। सत्ता गठबन्धनका तर्फबाट भन्दै जनमतले ममता झालाई उम्मेदवार बनाएको छ। यस्तै, गठबन्धनकै तर्फबाट अन्य दुई उम्मेदवारको पनि मनोनयन दर्ता भएको छ। 

जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी परेको छ। रामसहायका विरुद्धमा निर्वाचन कार्यालयमा नेकपा एमालेले उजुरी समेत दर्ता गरेको छ। जनमतले पनि उनीविरुद्ध उजुरी दिएको छ। 

राष्ट्रपतिमा पुरुष उम्मेदवार निर्वाचन भइसकेको अवस्थामा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने भन्दै एमालेले उजुरी दिएको हो। तर, संविधानको धारा ७० ले भने राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवार हुन सक्ने स्पष्ट व्यवस्था गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell