हेटौंडा : वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेकपा एमालेसँगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार भएको आरोप लगाएका छन्।
शनिवार हेटौंडामा आयोजित कर्मचारी संगठनहरुको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिप्रक्रियालाई टुंगोमा पुर्याउने मुद्दामा ओलीले वास्ता नगरेको कारणले नेकपा माओवादी केन्द्र र एमालेबिच सम्बन्ध चिस्सिएको बताए।
बाहिर हेर्दा राष्ट्रपति पदको मात्र मुद्दा जस्तो देखिए पनि भित्रीरुपमा शान्तिप्रक्रियाको विषयमा कुरा नमिलेको उनको भनाइ थियो।
सो कार्यक्रममा उनले प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन अब समुहमा लगानी गर्ने बताएका थिए। विगतमा प्रदेश सरकारले गरेको लगानीले जनजीवनमा प्रभाव परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने बताएका थिए।
सो कार्यक्रममा उनले कर्मचारी संगठनहरुले योजना बनाउँदा करार र अस्थाई कर्मचारीहरुको पनि हकहितको विषय समेट्नु पर्ने पनि उल्लेख गरेका थिए। उनले तल्लो तहका कर्मचारीको हकहितको विषयमा पनि गम्भिर बन्न सुझाएका थिए।
कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रही प्रति थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको विषयहरुमा सुझाव दिन समेत उनले आग्रह गरेका छन्। कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लाग्नुपर्ने उनको भनाई थियो।