PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

के मुलुकले पहिलोपटक पाउला महिला प्रहरी प्रमुख? प्रतिस्पर्धामा कति बलियो छिन् किरण?



पहिलोपोस्ट

के मुलुकले पहिलोपटक पाउला महिला प्रहरी प्रमुख? प्रतिस्पर्धामा कति बलियो छिन् किरण?

काठमाडौं : अहिले नै प्रहरी नियमावली यथावत् रहेको खण्डमा चैत ११ गते प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहले अवकाश पाउनेछन्। त्यसपछि शुक्रवारमात्रै एआईजीमा बढुवा सिफारिस भएका पाँच जनामध्येबाट एक जनाले सङ्गठन प्रमुखको जिम्मेवारी पाउनेछन्।

गृह मन्त्रालयले शुक्रवार पाँच जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको थियो। बढुवा समितिको बैठकले डीआईजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्याम ज्ञवाली र किरण बज्राचार्यलाई बढुवाको लागि सिफारिस गरेको छ। सात दिनसम्म उनीहरू विरुद्ध कुनै पनि उजुरी नपरेको खण्डमा मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्नेछ। बढुवा भएको केही दिन पनि बित्न नपाउँदै बढुवामा परेकामध्येबाट एक जनाले नेपाल प्रहरी प्रमुखको दर्ज्यानी चिह्न लगाउने अवसर पाउनेछन्।

प्रहरी नियमावली अनुसार वरिष्ठता, कार्यकुशलता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता लगायत कुरालाई मध्यनजर गरेर महानिरीक्षकमा बढुवा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। तर, पनि प्रत्येक पटक आईजी नियुक्तिको क्रममा विवाद हुने गरेको छ। यसै विषयलाई लिएर सरकारको निर्णय चित्त नबुझ्दा डीआईजी नवराज सिलवाल, रमेश खरेल र विश्वराज पोखरेलले राजीनामा दिएका पछिल्ला उदाहरण नै छन्। त्यसैले आईजी नियुक्तिमा सरकारको भूमिका पनि अहम् रहेको छ।

प्रहरी नियमावली २०७१ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई आईजी बनाउन सक्ने एउटा 'क्लज' पनि छ। त्यही बुँदालाई टेकेर राजनीतिक दलसँग निकटताको आधारमा पनि आईजी नियुक्ति हुने गरेको आरोप सरकारको नेतृत्व गर्नेहरु माथि लाग्दै आएको छ। यसपटक आईजी नियुक्ति पनि विवाद रहित होला भन्ने अपेक्षा गर्न सकिँदैन। विवादित बनेन भने चाहिँ अनौठो तर सकारात्मक उपक्रम हुनसक्छ।

यसपटकको आईजी नियुक्ति प्रकरण आफैँमा ऐतिहासिक बन्नसक्ने देखिएको छ। साढे ६ दशक लामो प्रहरी इतिहासमा यसपटक महिला प्रहरी पनि प्रहरी महानिरीक्षकको दाबेदार बन्दैछिन्। शुक्रवारको सिफारिस अनुसार बढुवा भएको खण्डमा हाल डीआईजी रहेकी किरण बज्राचार्य पनि महानिरीक्षक बन्ने सक्ने सम्भावना रहनेछ। यदि उनलाई सरकारले आईजी बनाउने निर्णय गरेको खण्डमा नेपाल प्रहरीको इतिहासमा उनी पहिलो महिला प्रहरी महानिरीक्षक बन्नेछिन्।

यसअघि डीआईजी पार्वती थापा पहिलो एआईजी बन्ने लाइनमा पुगेकी थिइन्। तर, सरकारले उनको बढुवा रोकेको थियो। उनीभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई बढुवा गरेपछि उनी अदालतसम्म पुगेकी थिइन्। तर, अदालतबाट उनले चाहेको जस्तो आदेश भएन। त्यसपछि उनले अवकाश पाइन्।

त्यसपछिका महिला प्रहरी प्राविधिक बाहेक अन्य डीआईजी भन्दा माथि पुग्न सकेनन्। तर, अहिले भने नेपाल प्रहरीमा चार जना डीआईजी महिला छन्। जसमा बज्राचार्य बाहेक मीरा चौधरी, दुर्गा सिंह र किरण राणा रहेका छन्। तीन जना चाहिँ एआईजी सिफारिसमा परेनन्। त्यसैले हाललाई उनीहरूको आईजी हुने बाटो बन्द भएको छ। उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। उनीहरूले विभिन्न जिल्ला र ब्युरोको कमान्ड समेत सम्हालिसकेका छन्। प्राविधिक बाहेक एआईजी पूजा सिंह उच्च प्रहरीको दर्जामा पुग्ने पहिलो महिला हुन्। अब नयाँ इतिहास बनाउने लयमा किरण बज्राचार्य रहेकी छिन्।

गृहमन्त्री स्तरीय निर्णयअनुसार २०७७ मङ्सिर ७ गतेबाट लागू हुने गरि ३३ जना एसएसपी सरुवा गरिँदा एसएसपी किरण बज्राचार्यले ललितपुरको कमान्ड सम्हाल्ने मौका पाएकी थिइन्। एसएसपीको कमान्ड रहने काठमाडौं र ललितपुर जिल्लामा पहिलो पटक महिला प्रमुख भएर जाने उनै थिइन्। बज्राचार्यले यसअघि भक्तपुर जिल्लाको कमान्ड पनि सम्हालेकी थिइन्। त्यस्तै इन्टरपोल विभाग, वाग्मती प्रहरी प्रदेश प्रमुख भएर पनि बज्राचार्यले काम गरिसकेकी छिन्।

अहिले नेपाल प्रहरीको कूल जनशक्ति ७५ हजार ४ सय रहेको छ। जसमा महिला प्रहरीको सङ्ख्या ८ हजार ९६९ छ। ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी सङ्गठनमा भने मुस्किलले ११ प्रतिशत मात्र प्रतिनिधित्व छ। झन् उच्च दर्जामा महिलाको उपस्थित कम भएको अवस्थामा बज्राचार्यको बढुवाले इतिहास रच्ने बाटो खोलेको छ।

वरिष्ठता र बढुवामा प्राप्त अङ्क हेर्दा एआईजीमा सिफारिस भएका डीआईजी वसन्त कुँवर सबैभन्दा अगाडि देखिएका छन्। कुँवरको प्राप्त अंक ६९ दशमलव ७३ रहेको छ। त्यस्तै सिफारिस भएका अर्का डीआईजी टेकबहादुर राईको प्राप्त अङ्क ६९ दशमलव ५८, डीआईजी दीपक थापा ६९ दशमलव ३, डीआईजी श्याम ज्ञवाली ६९ दशमलव शून्य ५ र बज्राचार्यको ६८ दशमलव ४८ रहेको छ।

कुनै समय घरको चुलो चौकोमा मात्र सीमित रहने भनिएका महिला अहिले देशका विभिन्न सर्वोच्च निकायको नेतृत्व गरिरहेका छन्। विद्यादेवी भण्डारी दुई कार्यकाल राष्ट्रपति बनिन्। सुशीला कार्कीले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश भइन्। ओनसरी घर्ती मगर प्रतिनिधिसभाको सभामुख बनिन्। इतिहास बनाइरहेका महिलाहरुको सूचीमा के किरण बज्राचार्यको नाम पनि रहला त? त्यसका लागि हामीले दुई सातामात्र प्रतीक्षा गर्नुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell